अपाङ्गता भएका व्यक्तिहरूको मतदानको अधिकार सुनिश्चत गर्नुपर्नेमा जोड

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

अपाङ्गता भएका व्यक्तिहरूको मतदानको अधिकार सुनिश्चत गर्न नीतिमार्फत नै सम्वोधन हुनुपर्नेमा जोड दिदिइएको छ  ।
वि.स. २०६८ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको १.९४ प्रतिसत अपाङ्गता भएका व्यक्ति छन् तर अपाङ्गमैत्री वातावरण, भौतिक पहुँचको अभावमा उनीहरूले निर्वाचनमा सक्रिय सहभागितासँगै मतदान गर्ने अधिकारबाट पनि बञ्चित हुनुपरेको विभिन्न अध्ययनले देखाएको छ ।
नेपाल अपाङ्ग महिला सङ्घद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा अपाङ्गतामैत्री वातावरणको अभावमा अपाङ्गता भएका व्यक्तिको मतदाता अधिकार कुण्ठित भइरहेकोले आउँदो स्थानीय तहको निर्वाचनमा भने सक्रिय सहभागिताको लागि व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
सो अवसरमा निर्वाचन आयोगका निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त मतदाता शिक्षा सामग्री बनाउनका लागि आयोगमा छलफल गर्ने प्रतिवद्धता जनाएकी छन  ।
उनले अपाङ्गता भएका व्यक्तिहरूको विविधतालाई सम्वोधन गर्ने मतदाता शिक्षा सामग्री, भौतिक पहुँचको अभावमा ठूलो मतदाताको सङ्ख्या मतदानबाट छुटेको यथार्थबारे सबै सजग हुुनुपर्ने बताइन  । साथै निर्वाचन आयोगले मतदातालगायत विविध क्षेत्रको खण्डिकृत तथ्याङ्क राख्न वेभसाइट तयार पारेको निर्वाचन आयुक्त तुलाधरको भनाई छ ।
नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष टिका दाहालले निर्वाचन आयोगले अपाङ्गता भएका व्व्यक्तिहरूको मतदानको अधिकारको उपयोगको सुनिश्चित गर्न नीतिगत व्यवस्था नै गर्नुपर्ने बताएकी छन  ।
त्यस्तै  संघका  महासचिव मिना पौडेलले सङ्घले युएस आइडी र इन्टरनेशनल फाउण्डेसन फर इलेक्ट्रोल सिस्टम –(आइफेस) को सहयोगमा ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरू लागि पहुँचयुक्त मतदाता शिक्षा सामग्रीलगायत मतदानको अवस्थाबारे गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन्  ।
महासचिव पौडेलले वि.स. २०६८ अनुसार नेपालको कुल जनसङख्याको १.९४ प्रतिसत सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरू मतदानको अधिकारबाट बञ्चित भएको अध्ययनले देखाएको जानकारी दिएकी थिइन्  ।
उनले दश प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये अधिकाँश व्यक्तिहरू बाटोको समस्याले मतदान केन्द्रसम्म पुग्नै नसक्ने, सहयोगीले मतदान गर्दा अपाङ्गता भएका व्यक्तिले चाहेको उम्मेदवारलाई भोट हाल्न नपाउने समस्यामा रहेको अध्ययनले देखाएको बताइन  ।
कार्यक्रममा आइफेसका कन्ट्री डाइरेक्टर राधिका रेग्मीले मतदानको अधिकार तथा निर्वाचनको क्षेत्रमा नीजि तथा सरकारी संघ संस्थासँग आइफेसको सहकार्य जारी रहेको जानकारी दिएकी थिईन  ।
उनले नेपाल अपाङ्ग महिला सङ्घसँगको सहकार्यमा मतदानको अधिकार सम्वन्धी गरिएको सहकार्य फलदायी रहेको र यस क्षेत्रका व्यक्तित्वहरूलाई जिल्ला तहको नेतृत्वकर्ताको रूपमा देख्न पाउँदा आफुलाई सन्तुष्टि तथा खुसी मिलेको अनुभव सुनाएकी थिइन्  ।

 

तपाइँको प्रतिक्रिया ।