नेपाली कांग्रेसमा पुस्तान्तरणको युग सुरू भयो : सहमहामन्त्री जीवन परियार

नेपाली कांग्रेसमा पुस्तान्तरणको युग सुरू भयो : सहमहामन्त्री जीवन परियार

 

कपन अनलाइन

काठमाण्डौ,पौष ६।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् । उनले भने–‘हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरुमा पनि युवाहरु आउनुभएको छ । धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको छ ।’
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । परियारले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे आफ्नो पार्टीको धारणा बाहिर ल्याईसकेको सुनाए । उनले भने–‘एमसीसीबारे काँग्रेसको आफ्नै खालको दृष्टिकोण छ । यो कांग्रेसको मात्रै एजेण्डा होईन, यो नेपालीहरुको एजेण्डा हो । दलहरुका बीचमा आ–आफ्नो दृष्टिकोण छन । मेरो व्यक्तिगत कुरा के हो भने यो सिंगो नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्छ । सबै दलले छलफल गरेर अघि बढ्नुपर्छ । सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । मेरो विचारमा त्यसरी छलफल गरेर निश्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको पनि सुनाए । उनले भने–‘एमसीसी राष्ट्रिय एजेण्डा हो । यो प्रमुख प्रतिपक्षी दल एमालेको पनि एजेण्डा हो । सम्झौतामा कुन–कुन बुँदा अनुपयुक्त छन्, वा राष्ट्रिय हितविपरित छन् ? राष्ट्रियतामा प्रश्न उठाउने कुरामा, यो पारित गर्नुहुँदैन् । एमसीसी भनेको अमेरिकी सहयोग रकम, यो नेपालमा मात्रै आएको होईन । विभिन्न देशमा सम्पन्न भएका घट्ना पनि छन् । सबै दलहरुमा छलफल गरेर र पूनरावालेकन गरेर पारित गर्नुपर्छ ।’
उनले पार्टीको विधानको संरचना अनुसार नै ल्याउनैपर्ने नेताहरुलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उल्लेख गरे । ‘सभापति देउवाले पार्टीका शीर्ष नेताहरु, जसले निर्वाचनमा भाग लिनुभएको छैन, कतिपय भाग लिएर पराजित हुनुभएको छ, उहाँहरुलाई उचित स्थान दिनुहुनेछ भन्ने व्श्विास लिएको छु । अहिले पार्टीभित्र ठूलो समस्या छैन् ।’–उनले भने ।
उनले अहिले १४औं महाधिवेशनमा पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको सुनाए । उनले भने,‘हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ, अघिल्लो पुस्ताको अनुभव र हाम्रो पुस्ताको क्रियाशिलताले गर्दा आज पार्टीमा युवाहरुको यो उपस्थिति भएको हो ।’
परियारले कांग्रेसको ईतिहासमा धेरै लामो समयपछि पार्टीको पदाधिकारी तहमा सहमहामन्त्री पदमा आफूलाई निर्वाचित हुने अवसर प्राप्त भएको भन्दै सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले भने,‘मलाई यो ठाउँमा पुर्याउनुहुने नेपाली कांग्रेसका हजारौं महाधिवेशन प्रतिनिधिहरु, जनसम्पर्क समितिबाट सहभागी हुनुभएका प्रतिनिधिहरु, सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छ ।’
उनले पार्टीको सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै आफूहरु अघि बढिरहेको सुनाए । उनले भने,‘यो सिद्धान्तलाई अंगिकार गर्दै २००३ सालमा महामानव विपीले नेपालमा राणा शासनविरुद्ध लड्नको लागि, सामाजिक कुरीतिको अन्त्यको लागि र समतामूलक समाज निर्माणको लागि नेपाली राष्ट्रिय कांग्रेसको जन्म भएको थियो । विपीले स्थापना गर्दै गर्दा नेपाली कांग्रेस एउटा समावेशी चरित्रको पार्टी बनाउनुपर्छ भन्ने चेत विपीमा थियो । त्यतिवेला देवदत्त परियार पार्टीको संस्थापक सदस्य हुनुहुन्थ्यो । २००५ सालमा नेपाली कांग्रेसका श्रद्धेय नेता सुवर्णशमशेर रााणाले नेपाल प्रजातन्त्र कांग्रेस स्थापना गर्नुभयो । त्यो पनि समावेशी थियो । त्यसको संस्थापक सदस्य आर.पी. गहतराज विश्वकर्मा हुनुहुन्थ्यो । उहाँ दलित समूदायको व्यक्ति हुनुहुन्थयो । २००६ सालमा दुई पार्टीबीच एकता भयो, त्यसपछि नेपाली कांग्रेस नाम रह्यो । आजमात्रै होईन, स्थापना कालदेखि दलित समूदायको हकमा अझै समावेशीको पार्टी थियो ।’
उनले पार्टीको ५औं महाधिवेशन २००९ सालमा सम्पन्न भएको स्मरण गराउँदै महामन्त्रीमा धनमानसिंह परियारलाई मनोनित गरिएको बताए । उनले भने,‘२००७ सालमा प्रजातन्त्र आयो, २००९ सालमा जेठको ९ गतेदेखि १२ गतेसम्म जनकपुरमा पाँचौं महाधिवेशन भयो । सभापतिमा विपी निर्वाचित हुनुभयो । त्यतिवेला उपसभापति भन्ने पद थिएन । महामन्त्री पद थियो । महामन्त्रीमा धनमानसिंह परियारलाई बनाउनुभएको थियो विपीले । यो आजभन्दा ६९ वर्ष पहिलेको कुरा हो । त्यो एउटा ऐतिहासिक पार्टी हो ।’
पार्टीले लिएको समावेशी नीतिको कारण आफूलाई आज ५४ वर्षपछि पदाधिकराीमा निर्वाचित हुने अवसर प्राप्त भएको छ। कांग्रेसमा वैधानिक रुपमा १२औं महाधिवेशन जुन २०६७ सालमा भएको थियो, त्यतिवेलादेखि नै महिला, दलित, जनजाति, मधेशी, थारु, आदिवासीलगायत सबै समूदायको अनिवार्य प्रतिनिधित्व गर्ने विधानमा व्यवस्था थियो । त्यो व्यवस्था १३औं महाधिवेशनमा पनि कायम थियो । १४औं महाधिवेशनमा आईपुग्दा त्यो व्यवस्था आयो । जसको कारण आज म सहमहामन्त्रीमा निर्वाचित हुन पाएको छु ।’
उनले आफूले विद्यार्थी कालदेखि नै राजनीति सुरु गरेको पनि स्मरण गराए । उनले भने,‘मेरो व्यक्तिगत राजनीतिक जीवनको कुरा गर्दा २०४६ सालमा म स्कुलको विद्यार्थी थिएँ, स्कुले जीवनमा नेविसंघको सदस्यता लिएँ । काँस्कीमा मेरो स्थायी घर हो । म साधारढा किसानको छोरो हुँ । २०४८ सालमा एसएलसी पास गरेपछि पि.एन. क्याम्पसमा नेविसंघको विभिन्न भूमिका बसेर काम गर्ने मौका पाएँ । २०५६ सालमा नेपाल दलित संघमा काम गरें । ११औं महाधिवेशनमा महधिवेशन प्रतिनिधि, १२औं महाधिवेशनमा महासमिति, १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सस्यको जिम्मेवारी लिएको छु, मैले पार्टीमा ११ वर्ष केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरेको छ । २०७० सालमा संविधानसभामा काम गरें ।’
उनले आफू पार्टीको सहमहामन्त्री भैसकेपछि आफूले गर्नुपर्ने दायित्व र जिम्मेवारी पूरा गर्नको लागि केही एजेण्डा अघि सारेको पनि उल्लेख गरे । उनले भने,‘पहिलो कुरा त लामो समयदेखि त्याग, तपस्या गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हामीले बनाएका छौं, त्यो संविधानमाथि नै ठूलो प्रश्नचिन्ह खडा गर्न खोजिएको छ। विगतको नेकपाको सरकार, खासगरी केपी शर्मा ओलीको सरकारले वर्तमान संविधानमाथि विभिन्न प्रश्न उठाएको बुझेकै छौं । यो संविधानको रक्षाबिना यो मुलुकको उन्नति, प्रगति हुँदैन भन्ने प्रश्न आएको छ। पहिलो कुरा प्रजातन्त्र, लोकतन्त्रक, गणतन्त्रको रक्षाको लागि विशेष ध्यान दिन जरुरी छ ।’
उनले अहिलेपनि नेपाली समाजमा दलित समूदायमाथि जातीय भेदभाव र छुवाछुतको समस्या ज्यँुकोत्युँ रहेको उल्लेख गरे । जातीय विभेद अन्त्यको लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने सुनाए। उनले भने,‘म आगामी दिनमा यो एजेण्डा उठाउँछु । अर्को कुरा, हाम्रो पार्टीको आन्तरिक संगठन सुदृढीकरण गर्ने कुरा अत्यन्तै महत्वपूर्ण छ, यसको लागि पनि म विशेष पहल गर्छु । पार्टीका भातृ र शुभेच्छुक संस्था मजबुद बनाउनुपर्छ । कांग्रेसको संगठनलाई सशक्त बनाउनको लागि पनि अब पार्टीभित्र व्यवस्थित् कार्ययोजना बनाएर अघि बढ्न जरुरी छ । त्यसको लागि हाम्रो भूमिका रहन्छ ।’

तपाइँको प्रतिक्रिया ।