नौली चरी : मिसु श्रेष्ठ थपलिया ( लघुकथा )

नौली चरी : मिसु श्रेष्ठ थपलिया ( लघुकथा )

कपन अनलाइन

काठमाडौं, पौष ३ ।

जङ्गलमा समारोह थियो । सबै चराहरुले आफ्नो प्रतिभा प्रस्तुत गरे । नौली चरीलाई मयुरको नाच खुब मन पर्यो। धेरै कोशिश गरेर मयुर जस्तै नाच्न सिकी । भव्य समारोहमा आफ्नो नृत्य प्रस्तुत गर्दागर्दै मयुरको ढंग छाडिदै गयो । ‘कस्तो झुर नाच ?’ प्रतिक्रिया सुनेर खिन्न भई ।
कति कोसिस गर्दा पनि सफलता प्राप्त गर्न सकिन । अन्ततः नृत्य नै छाडीदिई । फेरि समुदायमा भएको कार्यक्रममा सुगाले झैँ मिठो बोल्ने कोसिस गरी। धेरै बनावटी स्वर निकाल्नु पर्दा उसको गला बसेर बोली नै हरायो । सानो जुरेली चराबाट प्रभावित भई । त्यस्तै बन्ने कोसिस गरी तर बिचमा नै रोकियो । हरेकपल्ट कला र गलामा असफल भएर ऊ आजित भई । धेरै मिहिनेत गर्दा पनि असफलता हात परेकोले उसले प्रयत्न गर्नै छाडी । समयको अन्तरालमा फेरि कार्यक्रम भयो । उसलाई प्रतिस्पर्धा गर्ने हुटहुटीले छोड्को थिएन । तथापि सदाको असफलताले भाग लिने विचार त्यागेकी थिई ।
यसपालीको कार्यक्रममा ऊ दर्शक मात्र हुने विचार गरी । लगभग कार्यक्रमको अन्तिम भयो ।त्यहाँ बसिरहन मन लागेन । ऊ हिड्न लागेकी थिई । उद्घोषकले उसको नाम सम्बोधन गरेको सुनी । उसलाई पत्यार नलागे पनि बारम्बार सुनिरहँदा आफूलाई बोलाएको यकिन भयो । दर्शकदीर्घाबाट उसैको नाम हुँटिङ् हुँदै थियो। साथी चरा आएर आफूले नाम टिपाइदिएको कुरा बतायो ।
मञ्चमा उभिएर कस्तो प्रतिभा देखाउने ? उसले निर्णय गर्न सकिन । ‘ह्या जित्ने होइन, जे त
हुन्छ !’ भन्दै मनको वेदना भरिएको गीत सुनाई । जहाँ उसको आफ्नोपन थियोे । सधैं भारी हुने मन हलुका हुँदै मञ्चबाट झरी ।
नतिजा सार्वजनिक भयो । उत्कृष्टको सूचीमा नौली चरीको नाम आयो । ऊ खुसी भई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।