प्रत्येक ३८ दिनमा एक महिलाको कुरीतिका कारण हत्या
काठमाडौँ, १० चैत – समाजमा व्याप्त कुरीतिका कारण प्रत्येक ३८ दिनमा एक महिलाको हत्या हुने गरेको एक अध्ययनले देखाएको छ।
जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा मानवतावादी समाज सोच नेपालले यहाँ आयोजना गरेको नयाँ संविधान र कुरीति विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको अध्ययनले सामाजिक रुपमा रहेको जातीय विभेद, बोक्सीको आरोप, बहुविवाह, छाउपडी, दाइजो प्रथाजस्ता कुुरीतिका कारण महिलाको हत्या हुने गरेको जानकारी दिइयो।
सोचका कार्यकारी निर्देशक उत्तम निरौलाले कार्यपत्र प्रस्तुत गर्दै समाजमा रहेका यस्ता कुरीतिको अन्त्य गर्ने खालको कानुन बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी मानवअधिकारकर्मी चरण प्रसार्इं, मनु विक, साहित्यकार दामोदर पुडासैनी, चन्द्रिका भट्टराई, अधिवक्ता पार्वती राउतलगायतले कुरीतिविरुद्व कडा कानुन बनाउन सभासद्लाई सुझाव दिए।
सभासद्हरु रञ्जु झा, भरत साउद, सीता गुरुङ, तुलसा राना, सकुन्तला राजभण्डारी, आशा यादवलगायतले अब बन्ने संविधानमा धर्म र संस्कृतिको नाममा समाजमा विद्यमान कुरीतिलाई जगेर्ना गर्ने खालको नहुनेमा विश्वास गर्न आग्रह गरेका थिए। रासस