म राष्ट्रिय जनमोर्चामै छु : रोसन दानी
कपन अनलाइन
काठमाडौँ, मंगसिर १२
राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिका सदस्य रोसन दानीले आफू नेकपा (माओवादी केन्द्र) मा होइन, राजमोमै रहेको स्पष्ट पारेका छन ।नेकपा (माओवादी केन्द्र) काठमाडौँअन्तर्गत चन्द्रागिरि नगरको दोस्रो सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा उनलाई वडा नं. १ को वाई.सी.एल. अध्यक्ष भएको उल्लेख गरिएपछि उनले यस्तो जानकारी दिएका हुन् ।२०७८ मङ्सिर १२ गते जारी प्रेसवक्तव्यमा आफू राजमो चन्द्रागिरिको इन्चार्ज तथा प्रगतिशील पत्रकार सङ्घ काठमाडौँको अध्यक्षसमेत रहेको जानकारी दिइएको छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ
“२०७८ मङ्सिर ११ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) काठमाडौँ जिल्ला समितिअन्तर्गत चन्द्रागिरि नगर समितिको दोस्रो नगर सम्मेलनमा प्रस्तुत “राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन” को पाँचौँ पृष्ठको छैटौँ बुँदामा भनिएको छ– “चन्द्रागिरि नगर वाई.सी.एल. संयोजक क. विजय श्रेष्ठको उपस्थितिमा क. रोसन दानीको अध्यक्षतामा वडा नं. १ मा २६ सदस्यीय वाई.सी.एल. कमिटि गठन ।”
यस सम्बन्धमा स्पष्ट गर्न चाहान्छु, म रोसन दानी राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको सदस्य तथा चन्द्रागिरि नगर समितिको इन्चार्ज हुँ । त्यसका साथै म जनमोर्चा निकट प्रगतिशील पत्रकार सङ्घ, नेपाल काठमाडौँ जिल्ला समितिको अध्यक्ष पनि हुँ । त्यसकारण उक्त “प्रतिवेदन” मा उल्लिखित रोसन दानी नामको व्यक्ति सो भेलामा उपस्थित नै नरहेको र सो व्यक्तिको नामबाट सो स्थानमा कुनै पनि समिति गठन नभएको जानकारी गराउँछु ।”