गोकर्णेश्वर दक्षिणढोकामा खुल्यो कपनमा नक्कली नोट छाप्ने गिरोहको रहस्य

कपन अनलाइन

काठमाण्डौ , मंगसिर २।

नेपाल प्रहरी वृत्त बौद्धले बुधबार साँझ नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ  । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपनमा  डेरा भाडामा लिएका उनीहरुले  नक्कली नोट छापेर विभिन्न स्थानमा गै  किनमेलगर्ने गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बुढानीलकण्ठ नगरपालिका–११ कपन स्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई  ६५ हजार ३३५ नक्कली नोटसहित  पक्राउ गरेको हो।

सो स्थानमा  पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोट छाप्ने गिरोहको रहस्य खुलेको थियो।

गोकर्णेश्वर दक्षिणढोकामा  पक्राउ परेकी  गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित कपनबाट  नियन्त्रणमा लिइएको थियो ।

कपनको डेराबाट  उनीहरुले प्रयोग गरेको सक्कली जस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।