रोचक बन्दै एमाले ओखलढुंगाको महाधिवेसन प्रतिनिधि छनौट,को को छन चर्चामा ?
कपन अनलाइन
ओखलढुंगा ,कार्तिक २३।
नेकपा एमाले ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि बन्नका लागि नेता तथा कार्यकर्ताहरुको दौड र कसरत शुरु भए संगै एमाले जिल्लाको राजनीति निकै तातेको छ।
कार्तिक २७ गते हुने केन्द्रीय महाधिवेसनमा सहभागी हुने प्रतिनिधिहरुको छनौटका लागि छलफल भन्दै जिल्ला कमिटीको बैठक डाकिए पछी अहिले जिल्लाको नेतृत्व पंक्ति सदरमुकाममा भेला भएर जोड घटाउमा ब्यस्त बनेका छन भने उम्मेदवारी घोषणा र दावीको सिलसिला पनि शुरु भएको छ।
करिव ८ देखि १० जना महाधिवेसन प्रतिनिधि छनौट हुने एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको ओखलढुंगा जिल्लाका प्रभावशाली नेताहरु नै यस पटक महाधिवेसन प्रतिनिधिको दौडमा लाग्दा जिल्लाको राजनीतिक माहोल निकै तातेको एक जिल्ला सदस्यले बताएका छन।
नेकपा एमालेको विधान अनुसार न्युनतम ३३ प्रतिसत महिला प्रतिनिधित्व हुँदा करिव ६ जना पुरुष प्रतिनिधि पाउने ओखलढुंगामा अहिले दर्जन भन्दा बढी नेताहरुले महाधिवेसन प्रतिनिधि बन्ने इच्छा व्यक्त गर्दै आन्तरिक कसरत शुरु गरे संगै व्यापक छलफल प्रारम्भ भएको एक युवा नेताले बताए।
जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र अर्का नेता किशोर अधिकारी आयोजक कमिटी सदस्य हुनाले स्वत प्रतिनिधि हुने अवस्था संगै ओखलढुंगा जिल्लाबाट महाधिवेसन प्रतिनिधिका लागि अन्य प्रभावशाली नेताहरुले कसरत शुरु गरेका हुन।
नेकपा एमाले ओखलढुंगामा अहिले केन्द्रीय लेखा आयोग सदस्य शंकर बहादुर कार्की,प्रदेस कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिर बाबु गुरुङ,प्रदेस कमिटी सदस्यहरु बालकृष्ण ढुंगेल,नानीबाबु बुढाथोकी,जिल्ला अध्यक्ष मोहन श्रेष्ठ,जिल्ला सचिव शंकर कटवाल,उप सचिव मणिराज राई,जिल्ला सदस्यहरु तिर्थ सुवेदी,झम्कहरी बडाल,बलबहादुर ज्वाला,हरि घिमिरे,पुर्व जिल्ला अध्यक्ष केदारबाबु बस्नेत,सिताराम गुरुङ सहित धेरै जनाले महाधिवेसन प्रतिनिधिमा दावी गरेको श्रोतले जानकारी दिएको छ।
त्यस्तै नेकपा एमाले ओखलढुंगामा महिला तर्फ महाधिवेसन प्रतिनिधिमा संविधान सभा सदस्य सकुन्तला राजभण्डारी,शान्ता ढुंगेल ,इच्छा कुमारी गुरुङ,थलु राजभण्डारी,अस्मिता थापा लगायतको नाम चर्चामा रहेको छ ।