आफ्नै पम्पमा भएको अनियमितता छानविन गर्न प्रहरीबाट समिति गठन
काठमाडौं, ५ चैत । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालस्थित पेट्रोल पम्पमा भएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा ५ सदस्यीय छानबिन समिति बुधबार गठन गरिएको छ ।
छानबिन समितिमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखाका प्रहरी उपरीक्षक नरोत्तमलाल प्रधान, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, प्रहरी प्रधान कार्यालय कानून शाखाका प्रहरी नायव उपरीक्षक नवराज कार्की र प्रहरी प्रधान कार्यालयका प्रहरी निरीक्षक केशव गौतम रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अगुवाईमा चैत्र ३ गते गरिएको बजार अनुगमनको क्रममा नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पका ३ वटा नोजलहरुबाट हुने पेट्रोल वितरण अनियमित भएकोले अनुगमन टोलीले सिलबन्दी गरेको थियो ।
छानबिन समितिले पेट्रोल पम्पको अनियमित कस्को लापरवाही वा गल्तीको कारणबाट भएको हो वा यान्त्रीक त्रुटिका कारणबाट भएको हो ? सो को छानविन गरी ७ दिनभित्र सत्य तथ्य सहितको प्रतिवेदन पेश गर्ने छ ।