इजरायलमा प्रधानमन्त्री नेतान्याहुको अन्तिम आग्रहपछि कडा प्रतिस्पर्धामा मतदान आरम्भ

इजरायलमा प्रधानमन्त्री नेतान्याहुको अन्तिम आग्रहपछि कडा प्रतिस्पर्धामा मतदान आरम्भ

जेरुसेलम, ३ चैत । इजरायली मतदाताले कडा प्रतिस्पर्धाको निर्वाचनमा मङ्गलबार मतदान गरेका छन् । यस निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भन्दा मध्यबामपन्थी दल केही अगाडि देखिएका छन् । प्रधानमन्त्री नेतान्याहुले दक्षिणपन्थी जनतालाई मतदानका लागि आग्रह गर्दै प्यालेस्टाइन राज्यको स्थापनालाई अस्वीकार गर्नुभएको छ ।

CATl6cHUMAAbj-K
यस निर्वाचनमा मध्यबामपन्थी जायनिस्ट युनियनले बढी स्थानमा विजय हासिल गर्ने अनुमान गरिएको छ । यसले मध्यपूर्वमा नयाँ वार्ता तथा इजरायलको अमेरिकासँगको समस्याग्रस्त सम्बन्ध निर्धारण गर्ने अनुमान गरिएको छ ।
इजरायलको २० औँ नेसेटका लागि भएको यस निर्वाचनमा ५८ लाख जनता मतदाताको रूपमा रहेका छन् । नेसेटमा १२० स्थान रहेको छ ।
मतदाताले राती १० बजेसम्म मतदान गर्न पाउने छन् । बिहानको तीन घण्टामा १३.७ प्रतिशत मतदान भएको देखिएको छ ।
मतकेन्द्र बन्द भएको केही मिनेटपछि नै अर्को चरणको सर्वेक्षणको नतिजा आउन थाल्नेछन् ।
सन् २००९ पछि इजरायलमा यो तेस्रो निर्वाचन हो र यसलाई ६५ वर्षीय वर्तमान प्रधानमन्त्री नेतान्याहुका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको छ । उहाँले तेस्रो कार्यकाल खोज्नुभएको छ ।
अन्तिम अभिमत सर्वेक्षणले प्रतिपक्षी लेबोर नेता आइज्याक इजाक हर्जोगको जायनिस्ट युनियनले प्रधानमन्त्री नेतान्याहुको लिकुडले भन्दा तीन वा चार स्थान बढी प्राप्त गर्ने सम्भावना देखाएको छ ।
प्रधानमन्त्री नेतान्याहुलाई दक्षिणपन्थी तथा धार्मिक दलको समर्थन प्राप्त भएकाले लिकुड दोस्रो स्थानमा पुगे पनि ६१ स्थानको बहुमत प्राप्त गर्न उहाँलाई हर्जोगलाईभन्दा सजिलो हुने बताइएको छ ।
प्रधानमन्त्री नेतान्याहुले जायनिस्ट युनियनले मुलुकको सुरक्षा खतरामा पार्नसक्ने चेतावनी दिनुभएको छ । उहाँले जायनिस्ट युनियनले जेरुसेलमलाई विभाजन गर्ने तथा पूर्वी क्षेत्रमा प्यालेस्टाइन राज्य स्थापना गर्न दिने बताउनुभयो ।
अन्तम समयमा मतदाताको मत आकर्षण गर्न कट्टरपन्थी नेतान्याहुले आफू विजयी भए प्यालेस्टाइन राज्य स्थापना नहुने बताउनुभयो । उहाँले सन् २००९ मा दुई राज्यको समाधानलाई स्वीकार गर्नुभएको थियो र हाल त्यसलाई अस्वीकार गर्नुभएको छ ।
नेतान्याहुका प्रतिद्वन्द्वीले उहाँले त्रासको राजनीति खेलेको र आफ्नो विचारधारका लागि वासिङ्टनसँगको सम्बन्ध खतरामा पारेको आरोप लगाएका छन् ।
विश्लेषकहरूले यो निर्वाचन प्रधानमन्त्री नेतान्याहुको छ वर्षे कार्यकालप्रति जनमत सङ्ग्रह भएको स्वीकार गरेका छन् । यसमा नेसेटमा तेस्रो शक्तिको रूपमा अरब इजरायली ज्वाइन्टले १३ स्थान प्राप्त गर्ने अवस्था देखिएको छ । एएफपी

तपाइँको प्रतिक्रिया ।