चन्द्रागिरी १ दहचोकमा इन्द्रदह स्नान मेला सम्पन्न

चन्द्रागिरी १  दहचोकमा इन्द्रदह स्नान मेला सम्पन्न

कपन अनलाइन

काठमाडौं असोज ५ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका–१ दहचोकमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने इन्द्रदहमा स्नान मेला  सम्पन्न भएको छ ।वर्षा एवं सहकालका देवता इन्द्रको पूजा हुने जात्राका रुपमा लिइने इन्द्रजात्रा आइतबार साँझ दीप प्रज्ज्वलन गरी प्रारम्भ गरिएको भए पनि भाद्र शुल्क पूर्णीमाका दिन इन्द्रदह स्नान मेला लागेको छ। अघिल्लो बर्ष कोरोना महामारीको कारण मेला स्थगित भएको थियो।कोरोना महामारीका कारण भीडभाडमा बन्देज गरिए पनि दहचोक पुगेका भक्तजनको भीड ठूलै थियो । स्थानीय तहले भीड नगर्न आग्रह गरेको भए पनि भक्तजनहरु बाक्लै देखिएका  थिए  ।दहचोक १०० गन्तव्यस्थलभित्रको इन्द्रदह/काजी कालु पाण्डे समाधिस्थल क्षेत्रमा परापूर्वकालदेखि भाद्र शुक्ल पूर्णिमाका दिन मेला लाग्दै  आएको छ। अहिले उक्त क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ। करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको साँस्कृतिक महत्व बोकेको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको वडा  अध्यक्ष राजेन्द्र केसीले जानकारी गराए ।

ईन्द्रदहको बारेमा पौराणिक कथन धेरै छ। एक कथन अनुसार आफ्नो आमालाई काबासी पूजा गर्न स्वर्गमा नपाईने पारिजात फुल टिप्न ईन्द्र धर्तिमा आए। हालको मरुस्थल नजीकको बगैचामा फुल चोर्न लाग्दा ईन्द्रलाई स्थानीय बासिन्दाले पक्रेर बाँधी राखे। ईन्द्र नफर्केपछी ईन्द्रमाता आई बिलौना गरिन र बर्षभरि मरेका आत्मालाई स्वर्ग लैजाने र गहुँ तथा धान पकाउन हुस्सु र कुहिरो पठाईदिने शर्तमा ईन्द्रलाई फर्काईन। बर्षभरि मरेका आत्मालाइ ईन्द्रदह को पोखरीमा छोडेर ईन्द्र स्वर्ग गए। यस डाडोलाइ स्वर्ग स्वपान अर्थात स्वर्ग जाने भर्याङ पनि भनिन्छ। यस ठाउँमा भाद्र शुक्ल पूर्णिमाको दिन ठुलो मेला लाग्दछ। पौराणिककालमा भगवान इन्द्रले त्यस दहमा स्नान गरेको हुँदा त्यस दहलाई“इन्द्रदह” भनिन्छ ।

इन्द्रदह नजिकै इन्द्र र वासुकी नाँगको मन्दिर रहेको छ । यसै स्थानको विशेषताबाट दहचोक नाम रहन गएको हो ।“दहचोक” नाम नेपाल भाषाको (नेवारी भाषाको ) “धःच्व” शब्दबाट आएको मानिन्छ । यस भाषामा देवीदेवतालाई “धः” र डाँडालाई “ च्व” भनिन्छ । डाँडाको उच्च स्थानमा देवदेवीको मन्दिर रहेको हुँदा अहिलेको दहचोक भएको ठाउँलाई “धःच्व” भनिन्थ्यो । सोही नाममा अपभ्रंश भएर अहिले “दहचोक” हुन गएको हो भनिन्छ । साथै उच्चस्थानमा रहेको दह भन्ने भावार्थबाट “दहच्व” भएको र सोही नाममा अपभ्रंश भएर अहिले “दहचोक” हुन गएको हो पनि भनिन्छ । किनभने नेपालभाषामा उच्च स्थानलाई “च्व” भन्ने चलन छ ।

काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तर पश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ। यहाँबाट काठमाडौँ उपत्यका एकसाथ अवलोकन गर्न सकिन्छ। सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका स्थान थुप्रै छन्। दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको सामाधीस्थल, ओडारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन्।

दहचोकस्थित कालु पाण्डेको समाधिस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्णस्थल हो। सो स्थल दहचोकको सबैभन्दा अग्लो भाग छ। पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा वीरगति प्राप्त गरेका कालु पाण्डेले मृत्यु पर्यन्त गोरखा देखिने स्थानमा आफ्नो टाउको राख्नु भन्ने इच्छा गरेअनुरुप उहाँको समाधि बनाइएको बताइन्छ। दहचोकको इन्द्रदहमा स्नान गर्नाले जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ। सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । दहचोक डाडाँबाट उत्तरतर्फ नील गिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल देखिन्छन् भने गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडौ उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।