बौद्धनाथ गुम्बामा करिब दुई हजार भिक्षु तथा भिक्षुणीले अभिषेक लिए

बौद्धनाथ गुम्बामा करिब दुई हजार भिक्षु तथा भिक्षुणीले अभिषेक लिए

काठमाडौँ, २७ फागुन । काठमाडौँको बौद्धनाथ गुम्बामा करिब दुई हजार भिक्षु तथा भिक्षुणीले आज अभिषेक लिएका छन् ।
स्थानीय आमा याङ्री ह्याल्मो बौद्ध सङ्घको आयोजनामा बौद्ध धर्मका महायानी सम्प्रदायका सम्बन्धित भिक्षु तथा भिक्षुणीलाई विश्व मानव कल्याणमा अग्रसर हुन सो अभिषेक प्रदान गरिएको हो ।

images
धर्मगुरु क्याप्चे मेमे नवाङ तेन्जेन लामाले उनीहरूलाई अभिषेक प्रदान गर्दै समग्र प्राणी जगतको हितका लागि बुद्धका उपदेश, साहित्य तथा दर्शन उपयोगी रहेको र समाजमा तीनको प्रवद्र्धन गरी आध्यात्मिक माध्यमबाट शान्ति तथा मानव सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।
कार्यक्रम आयोजक सङ्घका उपाध्यक्ष नवाङ लामाले महायानी सम्प्रदायले अहिलेको समय अवधिलाई धर्म सञ्चय गरी पुण्यलाभ गर्ने विश्वास राख्ने भएकाले यही फागुन २३ गतेदेखि आजसम्म पवित्र कग्युर ग्रन्थको मन्त्रपाठ सम्पन्न गरी सो अभिषेक प्रदान गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, शाक्यमुनि बुद्धले मानवहितका लागि दिएका विभिन्न करुणामयी उपदेश तथा नैतिकतासँग सम्बन्धित शिक्षाकोसमेत सहभागीलाई दिक्षा दिइएको थियो ।
उक्त कार्यक्रममा भिक्षु तथा भिक्षुणीका अतिरिक्त गृहस्थी र अन्य धर्मावलम्बीको खचाखच घुइँचोले त्यहाँको माहोल रमणीय बनेको थियो ।

तपाइँको प्रतिक्रिया ।