३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी स्नुकर टोलीको स्वागत

३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी स्नुकर टोलीको स्वागत

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६ औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएको नेपाली टोलीको शनिबार स्वगात गर्यो।
सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
अंकितमान श्रेष्ठले प्रिक्वाटरफाइनल सम्मको यात्रा तय गरे । लिगमा अंकितले ४ खेल मध्ये ३ मा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने अंकित ४–० ले पछि परे ।
अन्तिम ३२ को प्रतिस्पर्धामा अंकितले कतारलाई ४–३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका  थिए । प्रिक्वाटरफाइनलमा भने अंकित इरानसंग ४–० ले रोकिए । प्रतियोगितामा अंकितले ८३ अंकको ब्रेक गर्दै ४२ खेलाडी सहभागी मध्ये ११ औं स्थान हात पारे ।
अर्का खेलाडी निर्मल बोगटीले समान २–२ खेलमा जित÷हार आत्मसात गरे । उनले जोर्डनलाई ४–२ तथा कुवेतलाई ४–३ ले पन्छाएका थिए । निर्मल पाकिस्तानसंग ४–० र कतारसंग ४–३ ले चुके ।
अध्यक्ष मुल्मीले सीमित श्रोत र साधनका बावजुद खेलाडीले उच्च प्रदर्शन गरेकोमा बधाइ दिदै नेपाली खेलाडी पनि कोहि भन्दा कम नभएको सन्देश दिन सफल भएको धारणा व्यक्त गरे ।
नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघका सचिव समेत रहेका सञ्जयकुमार मुल्मीले टोली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संघका अनुसार प्रतियोगितामा विभिन्न १९ राष्ट्रका ४२ खेलाडीले सहभागिता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।