शंखरापुरको सालिनदीमा माधवनारायण मन्दिर निर्माण हुने

शंखरापुरको सालिनदीमा माधवनारायण मन्दिर निर्माण हुने

कपन अनलाइन

काठमाडौं भाद्र ३१।  श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले श्रीश्रीश्री माधवनारायणको मूल मन्दिर बनाउनको लागि जग खन्ने कार्य भाद्र १७ गते बाट सुरु गरेको छ ।केही साता अघिदेखि सो कार्यमा समिति लागिपरेको भएतापनि मौसम अनुकूल नहुँदा सम्म खन्ने काम थालेको थिएन । अहिले मौसम अलिकति खुल्नासाथ समितिले काम थालेको हो ।यो मन्दिर खोलातिरबाट हेर्दा ३ तल्ले र भीमसेन पाटी तर्फको साईडबाट हेर्दा २ तल्ले देखिनेछ ।यस मन्दिरको लागत ३ करोड ५० लाखको अनुमान गरिएको छ । जुन रकम केही कम हुन सक्ने आँकलन गरिएको छ ।मन्दिर निर्माणको लागि आवश्यक काठको जोहो गर्दै समितिले केही ट्रक काठ चिरान गरेर ल्याईसकेको छ ।

सो मन्दिरमा करीब २ करोड ७० लाख बराबरको काठको काम हुने अनुमान गरिएको छ ।यही भाद्र १८ गते समितिले शालिनदी परीसरमा निर्माण गरिएको माधवनारायण पार्कको स्तम्भमा राख्नको लागि मैनको मूर्ति तयार भईसकेको जनाएको छ ।ढलौटको मूर्ति बनाउनु अगाडि मैनको मूर्ति बनाईएको हो । सो मैनको मूर्तिलाई माटोले ढाकेर ढलाई गरेपछि ढलोटको मूर्ति तयार हुनेछ ।सो मूर्तिमा कस्तो रङ्ग लगाउँदा उचित हुन्छ भनि समितिले विज्ञहरुसँग सल्लाह गरिरहेको समितिले जानकारी गराएको छ ।गत बैशाखमै निर्णय गरेर मूर्तिको लागि अर्डर गरेपनि कलाकारको कार्यव्यस्तता र लकडाउनको कारण   ढिलाई भएको समितिले जनाएको छ ।

फोटो :लावान्य संदेश

 

तपाइँको प्रतिक्रिया ।