पाँच दशक अघि चोरी भएको दशौं शताब्दीको उमा-महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण

पाँच दशक अघि चोरी भएको दशौं शताब्दीको उमा-महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

पाँच दशक अघि चोरी भएको दशौं शताब्दीको उमा-महेश्वरको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ।अमेरिकाको कोलोराडोस्थित डेनभर आर्ट म्युजियमले अमेरिकास्थित नेपाली राजदूतावासलाई उमा महेश्वरको मूर्ति हस्तान्तरण गरेको हो। म्युजियमको टोलीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको नेपाली राजदूतावासले जनाएको छ।

यो मूर्ति ललितपुरको पाटनबाट पाँच दशकअघि चोरी भएको लैनसिंह बाङ्देलले लेखेका छन्। उनले आफ्नो पुस्तक ‘स्टोलन इमेजेज् अफ नेपाल’ मा यो मूर्ति सन् १९६० को मध्यतिर चोरी भएको उल्लेख गरेका छन्।

डेनभर आर्ट म्युजियमका अनुसार यो मूर्ति इडविन एफ. उलमन दम्पतीले सन् १९८० मा म्युजियमलाई उपहार दिएका थिए। त्यसयता यो मूर्ति डेनभर म्युजियममै प्रदर्शनीमा राखिएको थियो।

उलमन दम्पतीले यो मूर्ति सन् १९६८ मा भारतको नयाँ दिल्लीस्थित ‘सुन्दरम वर्क अफ आर्टस् एन्ड ह्यान्डिक्राफ्ट्स’बाट खरीद गरेको बताएका थिए। उनीहरूले आफ्नो संग्रहमा रहेकामध्ये एउटा मूर्ति म्युजियमलाई दिएका थिए।

तपाइँको प्रतिक्रिया ।