असोज १ देखि देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन हुने

असोज १ देखि देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३० ।

सरकारले चाडवाडको अवसर पारेर असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यकाे पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएका छन।

प्रमुख कार्यकारी अधिकृत चन्दले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिएका छन। लिमिटेडले नै हरेक वर्ष चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने उनले बताएका छन  ।

उपत्यका भित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

त्यस्तै उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदै छ ।

यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने लिमिटेडले जनाएको छ ।

सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।