कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरुको भिड

कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरुको भिड

कपन अनलाइन

काठमाडौँ, भाद्र २९ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी मेला भर्ने दर्शनार्थीहरुको भिड लागेको छ। प्रत्येक बर्ष भाद्र शुक्ल अष्ट्मीको दिनमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिन सम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

कोरोना अघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले गत वर्ष र यो वर्ष पनि मेला नगरी पूजा आराधना गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख कृष्णहरि थापाले  जानकारी गराएका छन् । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले  नगरपालिकाले सार्वजनिक सुचना जारि गरि  मेला नलाग्ने जानकारी गराइए  पनि कागेश्वरी महादेव मन्दिर  पुग्ने भक्तजनको भीड ठूलै  रहेको छ  ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । सोहि स्थानको लोकतान्त्रिक सहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले  जानकारी गराएका छन  ।एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । सोहि मन्दिर समेतको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

तपाइँको प्रतिक्रिया ।