न्हुजः पुस्तकालयको वार्षिकोत्सवमा रक्तदान
कपन अनलाइन
काठमाडौं, भाद्र २ । न्हुजः पुस्तकालयको ३७ औं वार्षिकोत्सवको उपलक्ष्यमा न्हुजः खलः (नयाँ किरण समूह), टोखा द्वारा मंगलबार आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान ८ बजे देखि सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि सुरक्षित तवर बाट आयोजित उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदानगरेको आयोजकले जानकारी गराएको छ । कोभिड १९ को दोश्रो लहरका कारण देशभर मानव रगतको माग उच्च रहेको तर रक्तदान कार्यक्रमहरु न्यून आयोजना भइरहेको वर्तमान परिप्रेक्ष्यमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । त्यसो त संस्थाले आफ्नो स्थापनाकाल २०४१ सालदेखि हरेक भाद्र १ गते अविछिन्न रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
वार्षिकोत्सव दिवसको उपलक्ष्यमा संस्थाले टोखामा सदियौं कालदेखि चल्दै आएको चतुर्माश भजनमा सरिक हुने ५ दाफा खलः र १ भजन खलः तथा गुँला पर्वमा सरिक हुने धाँ खलःलाई जनही ३५० किलो चामल सहयोग गरेको छ । टोखामा पिगं द्यः दाफा खलः, ईन्द्रायणी दाफा खलः, चण्डेश्वरी दाफा खलः, जोरभिमसेन दाफा खलः र सपनतीर्थ दाफा खलः गरी ५ दाफा खलः, चण्डेश्वरी भजन खलः र सपनतीर्थ धाँ खलः चतुर्माश भजन र यससँग सम्बन्धित संस्कृति अगाडि बढाउन क्रियाशील छन् ।
साउन शुक्ल प्रतिपदादेखि ४ महिना निरन्तर भजन गर्ने यी खलःहरुले यस समयमा पर्ने विभिन्न जात्रा, पर्व तथा चाडहरुको संस्कृति पनि सञ्चालन गर्ने गर्दछन् । यी संस्कृति तथा संस्कार धान्नका लागि स्थानीय बासिन्दाहरुले सहयोग स्वरुप यी खलःहरुलाई थालमा राखेर चामल सहयोग गर्ने चलन पहिल्यै देखि चल्दै आएको छ । यही संस्कारलाई जीवित तुल्याउन तथा संस्कृति संरक्षणमा कृयाशील यी संस्थाहरुको क्रियाशील तुल्याउनका लागि संस्थाबाट सहयोग गरेको हो ।साथै, संस्थालेसोहि दिन पुस्तकालय परिसरमा निःशुल्क वाईफाई जोन समेत शुभारम्भ गरेको छ । ६० एमविपिएस वेन्डविथको यो वाईफाई एकपटकमा ५० वटा डिभाइसहरुमा चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ । कार्यक्रममा टोखा नगरपालिका उप प्रमुख ज्ञान माया डंगोलको समेत उपस्थिति रहेको थियो ।