कम्बोडिया पठाईदिन्छु भनि ३९ लाख ठग्ने पक्राउ
महानगरीय अपराध महाशाखाले कम्बोडिया पठाइदिने भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभागको अनुरोधमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले कम्बोडिया पठाएर क्यासिनोमा काम लगाइदिन्छु भनी विभिन्न ६ जनासँग ३९ लाख रकम ठगी गर्ने काभ्रेका विचारमान मोक्तानलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. १ गोकुले घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका फुटुङ बस्ने वर्ष २८ को मिनध्वज भन्ने विचारमान मोक्तान समेतले जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने वर्ष ३६ को प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रकम उठाएका थिए ।
उनले कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी निज प्रेम बहादुर तामाङ समेत ६ जनाबाट जम्मा ३९ लाख रुपैयाँ उठाई सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार भएकोमा यस महाशाखाबाट खटिएको बिशेष टोलीले विपक्षीहरु मध्येका मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार काठमाडौं–१०, नयाँबानेश्वरबाट पक्राउ गरेको जनाइएको छ ।
निजलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको पनि महाशाखाले जनाएको छ ।