असहाय गाईबाछा संरक्षण स्थलमा मन्त्री फुँयालको श्रमदान

असहाय गाईबाछा संरक्षण स्थलमा मन्त्री फुँयालको  श्रमदान

कपन अनलाइन

काठमाडौं, श्रावण ३१ । वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले शनिबार  असहाय गाईबाछा संरक्षण स्थलमा श्रमदान सहित झण्डोत्तोलन  गरेका छन् भने नजिकै  पिपलको बिरुवा समेत रोपेका छन । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा असहाय गाईबाच्छा संरक्षण अभियानले खुला छाडिएका गाईबाच्छालाई संरक्षण गर्दै आएको छ  करिब एक सय ५३ असहाय गाईबाच्छा संरक्षण गर्दै आएको उक्त स्थानमा बागमती  प्रदेशका भौतिक तथा पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले  एक बोरा पिठो समेत प्रदान गरेका छन  ।

 विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुवात गरेका थिए । सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थियो । विसं २०७६ चैतमा बन्दाबन्दी जारी गरिएका बेला सडकमा बेवारिसे गाईबाच्छाको सङ्ख्या बढ्न थाले पछि  सो समयमा कोषले अभियानलाई गौशाला बनाउन चरन क्षेत्रसहित पुग्ने गरी एक सय रोपनी जग्गा मौखिक सहमतिका आधारमा उपलब्ध गराएको थियो । त्यहाँ हाल सडकमा छोडेपछि दुर्घटनामा परेका, कुकुर लगायतले लखेटेर घाउ बनाएका, विभिन्न रोग लागेर सडकमै ढलेका गाईलाई संरक्षण गरिएको छ । गाई संरक्षण अभियानमा केही स्वयंसेवी निरन्तर रुपमा खटिँदै आएका छन् ।

विभिन्न उदारमना व्यक्तित्वले गरेको सहयोगले सो  अभियान टिकेको छ । अभियानलाई मन्त्री फुयालले  २०७५ साल जेठमै आधा महिनाको तलब दिएर सहयोग गरेका थिए । यसले असहाय गाईबाच्छा संरक्षणलाई बीज स्रोतको काम गरेको अभियानकर्मी उत्तम पुडासैनी बताउछन  ।कार्यक्रममा बोल्दै मन्त्री फुयालले  असहाय गाईबाच्छा संरक्षणका लागि वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट भौतिक पूर्वाधार निर्माण गर्ने गरी रु १० लाख बजेट विनियोजन गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पनि असहाय गाईबाच्छा संरक्षण अभियानका लागि रु २५ लाख बजेट विनियोजन  गरेकोले त्यसलाई व्यवस्थापन गरेर काम गर्न  उनको सुझाब रहेको थियो ।असहाय गाईबाछा संरक्षण जस्तो जटिल कार्यमा संलग्न सबैप्रति आभार प्रकट गर्दै देश बनाउन श्रम नै गनुपर्छ, कुराले हुँदैन  उनले भने । प्रदेश सरकारका तर्फबाट असहाय गाईबाछाको उद्धारका लागि एकथान एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त  गरेका थिए ।

शनिबार नै कागेश्वरी मनोहरा नगरपालिकाका कानुनी सल्लाहकार विदुर ढुङ्गानाले पनि रु सात हजार सहयोग  गरेका थिए । पछिल्लो समय जन्मदिनमा असहाय गाईबाच्छालाई पीठो, दाना, घाँस वा नगद नै दिएर सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले सुनाए । यस्तो अभियानमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालसहित सयौँ व्यक्तित्व सहभागी भइ सकेका छन् ।

अभियानले सो स्थलमा पाँच सय गाईबाच्छालाई संरक्षण गर्न सक्ने संरचना निर्माण गरिरहेको छ । घाइते गाईबाच्छालाई उपचारका लागि छुट्टै उपचारस्थलको समेत निर्माण हुँदैछ । असहाय गाईबाच्छाको संरक्षणसँगै कम्पोष्ट मल उत्पादन पनि सुरु गरिँदै छ । यहाँ उत्पादन गरिने कम्पोष्ट मल बजार मूल्यभन्दा आधामै उपलब्ध गराइने अभियानकर्मी पुडासैनीले जानकारी गराएका थिए ।

अभियानले कुहिने फोहोरलाई कम्पोष्ट बनाउन प्रयोग गर्ने जनाएको छ । नकुहिने प्लाष्टिक जस्ता फोहोरलाई बोतलमा राखेर इँटा बनाउने अभियान सुरु भएको छ । गाईबाच्छा संरक्षण स्थलमा आउँदा फालिने प्लाष्टिकका झोलाहरु पनि सङ्कलन गरेर बुझाउने सकिनेछ । घरघरमा पनि प्लाष्टिकका झोला जम्मा गरेर अभियानलाई उपलब्ध गराउन अभियानकर्मी पुडासैनीले आह्वान गरेका छन । सडकमा फालिएका प्लाष्टिक पनि टिपेर अभियानलाई दिन सकिनेछ ।

असहाय गाईबाच्छा संरक्षण स्थललाई गौधामका रुपमा विकास गरेर वैदिक सनातन हिन्दू धर्मावलम्बीको दर्शनीय स्थलका रुपमा विकास गरिने लक्ष्यसमेत अभियानले अघि सारेको छ । गाईलाई गौमाताका रुपमा पूजा गर्ने संस्कृति बोकेको समाजमा गाईबाच्छालाई बेसहारा बनाएर मर्न बाध्य बनाइनु पाप भएकाले अभियानकर्मीहरु यस महायज्ञमा  जुटेका हुन् ।गौधाम वरपरको भागमा टिम्बुर, फलफूललगायत जडीबुटी रोपण अभियान पनि सुरु भएको छ । गाईसँगै औषधिजन्य वनस्पति रोपेर जडीबुटीका क्षेत्रमा समेत काम गर्न लागिएको हो ।अभियानसँग जनावर उद्धार गर्ने एम्बुलेन्स नहुँदा खरिपाटीमा बूढीगाई घाइते भएको खबर पाएर पनि केही गर्न नसक्दा रातभर सुत्न नसकिएको अभियानकर्मी पुडासैनी गुनासो  गर्छन । यसैगरी तीनथानामा पनि तीन बाच्छा घाइते भएको खबर आए पनि एम्बुलेन्सको अभावमा ठाउँ भएर पनि अभियानले केही गर्न सकेको छैन । यसैगरी त्रिभुवन विमानस्थल नजिकै यसअघि असहाय गाईबाच्छा संरक्षण गरिराखिएको स्थलमा पनि मानिसले ल्याएर तीन बाच्छा छोडेकामा कुकुर लगायतले घाइते बनाएका छन् । एम्बुलेन्स अभावले यिनको पनि उद्धार हुन सकेको छैन ।

तपाइँको प्रतिक्रिया ।