काठमाण्डौ गणबहाल बाट ९१ लाख ९६ हजार सहित चार हुण्डी कारोवारी पक्राउ

काठमाण्डौ गणबहाल बाट ९१ लाख ९६ हजार सहित चार हुण्डी कारोवारी पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।

महानगरीय प्रहरी परिसर काठमाडौंले हुण्डी कारोबारी ४ जनालाई ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ गणवहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा तत्काल परिसरबाट विशेष प्रहरी टोली परिचालन गरी पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन  ।

प्रहरी टोलीले खोजतलास गर्दा तनुज इन्टरप्राइजेज प्रालि गणवहालमा चेकजाँच गर्दा सञ्चालक तरुण अग्रवालसहित ४ जनाको साथबाट हुण्डीको कारोबार (समानान्तर बैंकिङ कारोबार) गरिरहेको अवस्थामा रकम, १७ चेक, डिपोजित स्लीप ८ फेला परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई परिसरबाट थप अनुसन्धानपश्चात आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नगद रकम ९१ लाख ९६ हजार रुपैयाँ, ८० लाख ४३ हजार ३१९ रुपैयाँका डिपोजित स्लिप, चेक रकम ३६ लाख ८३ हजार ४४८ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले सञ्चालक ताहाचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, तनहुँको भिमाद–१ घर भई हाल गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, रामेछापको देउराली–२ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का, जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाईलाई पक्राउ गरेको छ ।

तपाइँको प्रतिक्रिया ।