किशोरी तथा अपाङ्ता भएका महिलाहरुलाई सुरक्षित गर्भपतन सेवा दिनुपर्ने माग
कपन अनलाइन
काठमाण्डौ ,साउन २१।
सुरक्षित गर्भपतन सेवा सम्वन्धी निर्देशिका बनाउँदा अनिच्छत गर्भ रहन गएको अवस्थामा सुरक्षित गर्भपतन सेवाको लाभ लिन चाहने किशोरी तथा अपाङ्ता भएका महिलामैत्री हुनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी विज्ञहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मस्यौदा भइरहेको सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधि निर्देशिकालाई त्यस सम्वन्धी ऐनमा भएको व्यवस्था अनुसार किशोरी तथा अपाङ्गता मैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
हडनाता करणी, यौनशोषण, बलात्कार एवं बच्चाको जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा रहेको गर्भलाई सुरक्षित गर्भपतन सेवाद्वारा गर्भपतन गर्न ऐन बनेको छ भने निर्देशिकाबारे छलफल जारी रहेको छ ।
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाको प्रजनन स्वास्थ्य अधिकारको लागि सुरक्षित गर्भपतन सेवा लिन चाहने वा आवश्यक वर्गमैत्री हुनुपर्ने बताएकी छन ।
आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले किशोरीहरूबीच सचेतना अभिवृद्धि गर्दै असुरक्षित गर्भधारण हुने अवस्था सिर्जना हुन नदिन तथा यस सम्बन्धी सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताईन ।
महिला कानुन र विकास मञ्चको प्रतिनिधित्व गर्दै कार्यक्रमा सहभागी अधिवक्ता नविनकुमार श्रेष्ठले सुरक्षित गर्भपतन सेवा सम्वन्धी ऐनले व्यवस्था गरेको सेवा स्वास्थ्य संस्थाले उपलब्ध गराउन नसकेको कारण धेरै किशोरी र उनको बच्चाले समस्या झेल्नुपरेको धेरै उदाहरण रहेको बताएका थिए ।
उनले निश्चित समयको अनिच्छित गर्भपतन गर्न पाउने अधिकार महिलाको प्रजनन स्वास्थ सम्वन्धी हकसँग मात्र सम्वन्धीत नभई किशोरी र बच्चाको नागरिकतासँग पनि जोडिने सवाल हो र पालनपोषण, शिक्षा बालबालिकाको कुण्ठित हुन सक्ने भएकोले इच्छा र जिम्मेवारी बहन गर्न नसकेको अवस्थामा सुरक्षित गर्भपतन गर्न पाउनुपर्ने बताएका थिए ।