काठमाडौँ महानगरका सबै वडामा कोरोना विरुद्धको खोप केन्द्र राखिने

काठमाडौँ महानगरका सबै वडामा कोरोना विरुद्धको खोप केन्द्र राखिने

कपन अनलाइन

काठमाण्डौ ,साउन १३।

५० बर्ष उमेर समूह माथिका नागरिकलाई खोप लगाउन काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राख्ने निर्णय भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा आज बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौँ जिल्लाका अन्य नगरमा सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने निर्णय गरेको छ । यसैगरी अत्याबश्यक सेवाका व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, सामाखुशी, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, टिचिङ् अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्र तोकिएको छ ।

फरक क्षमताभएका व्यक्तिका लागि भेरोसेल खोप लगाउने कार्यक्रमअन्तर्गत खोप सञ्चालन हुने समयमा नजिकको खोप केन्द्र वा अन्य पायक पर्ने ठाउँमा सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीको संयोजकत्वमा ६ सदस्यीय खोप अनुगमन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, सशस्त्र प्रहरी वल, जिल्ला स्वास्थ्य कार्यालय र काठमाडौँ महानगरको प्रतिनिधित्व रहने उक्त समितिमा महानगरकातर्फबाट नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया ।