बकर इद मनाइदै

बकर इद मनाइदै

कपन अनलाइन

काठमाडौँ, श्रवण ६ । आज मुस्लिम समुदायले आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ। यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् ।यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

कोरोना भाइरसका कारण उपत्यकाका मस्जिदमा चहलपहल देखिएन । उपत्यकामा जारी निषेधाज्ञा अन्तर्गत स्थानीय प्रशासनले विशेष पुजाबाहेक धार्मिक क्षेत्रका मठ, मन्दिर, मस्जिद, गुम्बाहरु खोल्न रोक लगाएको छ  ।

सोही कारण राजधानीको सुन्धारामा रहेको मस्जिदमा विगतमा वर्षहरुमा नवाज पढ्नका लागि भिडभाड हुने भएपनि यो वर्ष सुनसान देखिएको हो ।  मुस्लिम आयोग लगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।