एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि छनोट सुरु

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि छनोट सुरु

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २–२ गरी ४ स्पर्धामा खेल भइरहेको छ ।
पुरुष/महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् । उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने अध्यक्ष अवालेले जानकारी गराए । प्रतियोगिता अगष्ट १७ देखि ३१ तारिखसम्म दुबइमा हुँदै छ ।
पहिलो दिन युथतर्फ पुरुष ६० केजीमा भूपु बक्सिङ, कास्कीका निश्चल गुरुङले रोल्पाका गौतम पुन मगरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे । जुनियर पुरुषको ५७ केजीमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउदै फाइनलमा पुगे । युथको पुरुष ५४ केजीमा झापाका प्रवीण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पन्छ्याउदै फाइनलमा पुगे । युथको पुरुष ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पाखा लगाए ।
युथको महिला ४८ केजीमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरिन् ।
जुनियरतर्फ पुरुष ५० केजीमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापा, ५४ केजीमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराज तथा ७५ केजीमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई फाइनलमा पराजित गरे ।
जुनियर महिलाको ५० केजीमा मकवानपुरकी रोशनी घलानले दमककी अनिशा खवास तथा ५४ केजीमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई फाइनलमा पाखा लगाए । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

तपाइँको प्रतिक्रिया ।