प्रदेस नं १ मा संसद सुचारु,मन्त्री अम्बिरबाबु गुरुङको अभिव्यक्ति रेकर्डबाट हटाइयो
कपन अनलाइन
काठमाण्डौ ,असार २२ ।
बजेटमाथिउठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अम्बिरबाबु गुरुङले दिएको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइने भएपछि प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक सञ्चालन भएको छ ।
नेकपा (माओवादी केन्द्र)ले चारवटा बैठक अवरुद्ध गरेपछि मन्त्रालयगत रुपमा विनियोजित बजेट तथा कार्यक्रममाथिको छलफल हुन नसकेको अवस्थामा आज मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाइने सहमति पछि बैठक सञ्चालन भएको हो ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको बैठक सुरु हुनासाथ मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन र अन्य माननीयहरुलाई पनि मर्यादित भाषा र प्रस्तुति दिन निर्देशन दिएका थिए । प्रदेशसभाको १२औँ बैठकको क्रममा सभामुखले भौतिक पूर्वाधार विकासमन्त्री गुरुङको उक्त अभिव्यक्ति हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फ विनियोजित बजेट तथा कार्यक्रममाथि प्रश्न उठाएपछी त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले खड्कालाई ‘भिजन नभएको नेता’ भन्दै टिप्पणी गरेका थिए ।