मेरा सपना : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

म खोज्छु सपना आफ्नै कर्ममा व्यवहारमा
म खोज्छु जूनको कान्ति आमाको अनुहारमा
म खोज्छु सुखको बास बारी खेत कुलोतिर
र खोज्छु भोकमा गाँस पसिनाको चुलोतिर ।

खोजेर जननी स्नेह फर्कन्छु गुँडमा सधैँ
माटाको महिमा खोज्दै म पुग्छु युद्धमा सधैँ
कहाँ यशोधरा होलिन् कहाँ छन् बुद्ध खोज्छु म
चाहिन्न सुनको थाल जे मिल्छ शुद्ध खोज्छु म ।

म खोज्दै जान्न, भेटिन्छ अनुदान कता भनी
म खोज्दै जान्न, गाएर जयगान जता पनि
जोडौँला घर त्यैँ भन्दै, जान्न भिसा समाउँन
झुकेर जान्न, खोज्दै म बङ्गलामा रमाउँन ।

कस्तुरी मृग यो माटो खोज्छु सुगन्ध दिव्य यैँ
सीताका पाइला टेक्दै म खोज्छु त्याग नित्य यैँ
रीति नीति यतै खोज्छु यतै वाद र पद्धति
अरनिको यतै खोज्छु यतै व्यास र वाल्मिकी ।

इन्द्रेनीका ध्वजा नाच्ने यैँ रङ्गमञ्च खोज्छु म
ऋषि महर्षिका चोखा यैँ सूत्र मन्त्र खोज्छु म
सजाई देशको माटो उन्नतिमा रमाउँछु
र मेरा सपना सारा आमालाई सुनाउँछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।