शैक्षिक अनुसन्धानका लागि त्रिविका विभिन्न विभाग र मदन भण्डारी फाउन्डेसन बिच संझौता

कपन अनलाइन
काठमाण्डौ , असार १३।

मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालयका विभागहरू बीच विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शनिबार मदन भण्डारी फाउण्डेशनको केन्द्रीय कार्यालय गौशालामा आयोजित एक कार्यक्रममा फाउण्डेशनकी सचिव पेम्बा लामा तथा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका प्रमुखहरू बीच त्रिबिमा अध्ययनरत विद्यार्थीको अनुसन्धानका लागि विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका उप–कुलपति डा। धर्म कान्त बास्कोटा लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले खोज अनुसन्धानसँग सम्बन्धित विषयमा छात्रवृत्तिको व्यवस्था मिलाउने कार्यलाई अगाडी बढाएकोमा मदनभण्डारी फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै मदन भण्डारी फाउण्डेशनका सामाजिक अभियान विभागका संयोजक सुशील प्याकुरेलले नेपालमा उत्पत्ति भएका बिचारहरू, आन्दोलन र राजनैतिक व्यक्तित्वहरूले ल्याउनुभएका बिचारहरू अनुसन्धान गरी बौद्धिक भण्डारण बढाउँदै लैजानु पर्नेमा जोड दिँदै छात्रवृत्तिबाट विद्यार्थीले सोध, अनुसन्धान र परिष्कृत बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा बोल्नुहुँदै त्रिभुवन विश्वविद्यालयका भौतिक शास्त्रका प्राध्यापक डाक्टर बिनिल अर्यालले राष्ट्रलाई समृद्ध बनाउन अनुसन्धान तथा विकासमा जोड दिनु पर्ने भन्दै त्यसका लागि नेपालले शिक्षणको गुणस्तर बढाउन लगानी गर्नु पर्ने बताएका थिए । उनले जननेता मदन भण्डारीले पूर्वाधार विना समाजवाद असम्भव भएको र पूर्वाधार विकासका लागि राष्ट्रिय पुँजी र औद्योगीकरण आवश्यक रहेको र यसको निम्ति नवीनतम अनुसन्धानको आवश्यक हरेक क्षेत्रमा रहेको औँल्याउनुभएको स्मरण गराएका थिए  ।

कार्यक्रममा सहजता प्रदान गर्दै मदन भण्डारी फाउण्डेशनकी सचिव पेम्बा लामाले कार्यक्रम मञ्चमुखी नभई विषयमुखी हुनु पर्नेमा जोड दिएकि थिइन् ।

तपाइँको प्रतिक्रिया ।