रेडियो मेलम्ची पुनः सञ्चालनका लागि बस्ती सुधार र पत्रकार महासंघको सहयोग

कपन अनलाइन
पर्सा,  असार १३।

संरचना वस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. १ लाख १ हजार १ सय ११ सहयोग गरेको छ । त्यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख अर्यालले नगरपालिकाका बाढी प्रभावितहरुका लागि हालसम्म गरिएको कामबारे जानकारी दिनुभयो । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटका बेला पनि सूचना प्रवाह गरिरहेको रेडियो मेलम्चीलाई पुनः स्थापना गर्न महासंघले सहयोग गर्ने वचन दिएका थिए  ।

तारकेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष मधु कार्कीले रेडियोलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए  । संरचना वस्ती सुधार समितिका सल्लाहकार पदमबहादुर खड्काले जिल्लामा रहेर निरन्तर सञ्चार कर्ममा लागिरहेको रेडियो मेलम्चीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए  ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले रेडियोले हालसम्म व्यहोरेका संकट उल्लेख गर्दै रेडियो बाढीले पूर्णतः क्षति भएकाले पुनः स्थापनाका लागि सबैमा सहयोगका लागि आह्वान गरेका थिए  ।

महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बाढी प्रभावित महासंघका सदस्य तथा पूर्वअध्यक्ष महेश श्रेष्ठलाई राहतस्वरुप रु. ५० हजार सहयोग हस्तान्तरण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।