बुढानिलकण्ठ नगरपालिकामा १ अरब ८२ करोड ९२ लाख ७६ हजारको बजेट

कपन अनलाइन

काठमाण्डौ ,असार १० ।

बुढानिलकण्ठ नगरपालिकाले  आ.व २०७८\७९ को लागि १ अरब ८२ करोड ९२ लाख ७६ हजारको बजेट प्रस्ताव गरेको छ  ।

कुन-कुन क्षेत्र प्राथमिकतामा  ?

बुढानीलकण्ठ नगरपालिकाले  नगर अस्पताल, कपन ह्याण्डबल बहुउद्देश्यीय खेल पूर्वाधार योजना, बूढानीलकण्ठ तरकारी खरिदबिक्री भण्डार, विभिन्न वडा कार्यालय भवन निर्माण, उज्यालो बूढानीलकण्ठ कोशेली घर निर्माण, स्वास्थ्य चौकी भवन र महत्वपुर्ण सडक योजनाहरुमा आवश्यक वजेट व्यवस्था गरेको छ ।

भौतिक पूर्वाधार, सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय विकास अन्तर्गत महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, विपन्न क्षेत्रमा अधिकतम बजेट व्यवस्था मिलाईएको छ  ।

त्यस्तै  कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि र आगामी दिनमा आउन सक्ने महामारीलाई ध्यानमा राखी स्वास्थ्य पूर्वाधारको व्यवस्था मिलाउन विशेष ध्यान पुर्याईने उल्लेख गरिएको छ।आर्थिक विकास अन्तर्गत महिला, युवा उद्यमशिलता, पूर्वाधार र रोजगार वृद्धि क्षेत्रमा सहयोगका लागि बजेट व्यवस्था गरिएको छ ।

चालु आ.व मा टेण्डर भएका तर बजेट पुरा नभई बहुबर्षे योजनाको लागि नगर अस्पताल, कपन ह्याण्डबल, थोक कृषि बजार, वडा नं. ९ को सामुदायिक भवन रुद्रेश्वर महादेव खोला जोड्ने सडक कालोपत्रे, ईटालीटार सडक पिच र केही सडकहरुको बजेट भुक्तानीको लागि आवश्यक रकम छुट्याईएको छ ।

विषयगत शाखा क्षेत्रका खर्चको लागि ७ करोड १० लाख विनियोजन गरिएको छ । विविध नगरस्तरीय योजनाहरुको लागि रु. १३ करोड बिनियोजन गरिएको छ ।

आ.व २०७८।०७९ को लागि विषयगत क्षेत्रहरुको हकमा जम्मा रु. ३५ करोड, ५ लाख ४३ हजार ५ सय रकम मध्ये पूर्वाधार विकासमा ४० प्रतिशत, खानेपानीमा १५ प्रतिशत, बन, बातावरण, फोहोरमैला तथा विपद व्यवस्थापनमा १० प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत र शुसासन तथा संस्थागत विकासमा ५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।