काठमाडौँ महानगरको बार्षिक बजेट १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ

कपन अनलाइन

काठमाण्डौ ,असार १० ।

आ. व. ०७८/०७९ का लागि काठमाडौँ महानगरको बार्षिक बजेट १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । आज राष्ट्रिय सभा गृहमा सम्पन्न महानगरपालिकाको नवौं अधिवेशनको चौथो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तावित बजेट पेश गरेका थिए।

प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट ४ अर्व ३४ करोड ३२ लाख रुपैयाँ व्यहोरिनेछ । त्यसैगरी राजस्व बाँडफाँडबाट २ अर्व ५८ करोड २५ लाख रुपैयाँ, नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त प्राप्त हुने ८३ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने १ अर्ब ३२ करोड १४ लाख रुपैयाँ, बैङ्क मौज्दात ७ अर्व रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत् प्राप्त हुने १ अर्व ५० करोड रुपैयाँ र अन्य वाह्य स्रोतबाट प्राप्त हुने १ अर्व ३७ करोड ७ लाख रुपैयाँबाट व्यहोरिनेछ ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्ताव गरिएको हो ।

बजेटमा  कोविड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रममा ५० प्रतिशत वीमा शुल्क व्यहोर्न बजेट प्रस्ताव गरिएको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाका लागि बजेट प्रस्ताव गरिएको छ ।

महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवर्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत सहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, उद्यमशीलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवर्धन , युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट प्रस्ताव गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।