ओखलढुंगामा एकै दिन प्रदेस क्षेत्र स्तरीय चक्रपथ र पुलको उदघाटन

ओखलढुंगामा एकै दिन प्रदेस क्षेत्र स्तरीय चक्रपथ र पुलको उदघाटन

कपन अनलाइन

ओखलढुंगा ,असार ५।

विकास निर्माणका आयोजना वर्षाैँ अलपत्र पर्ने समस्या रहेको ओखलढुंगामा दुईवटा योजना  सम्पन्न भएका छन् । निर्वाचन क्षेत्रस्तरीय चक्रपथ  र सिस्नेखोला पुल निर्माण सम्पन्न भएका हुन्।

प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गरिरहेका दुवै आयोजना सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले एकैपटक दुवै योजना उद्घाटन गरेका छन  ।

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले छनौट गरेको निर्वाचन क्षेत्र नं. १ उच्चस्तरीय चक्रपथ  को पहिलो खण्ड रुम्जाटार–सानीटार–बनपाले–बुलादी–देउराली फेदे सडक निर्माण सम्पन्न भएर उदघाटन भएको छ।

तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रा.लि बालाजु काठमाडौंले ठेक्का लिएको सडक सम्झौता मिति भन्दा एक वर्ष अगाडी नै सम्पन्न भएको छ।

०७८ पुस २१ गतेसम्म म्याद राखेर ०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नाै किलोमिटर आठ सय मिटर सडक निर्माणको काम  डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ । भ्याटसहित १५ करोड ६२ लाख ७० हजार ६ सय ७५ रुपैयाँ ४९ पैसामा ठेक्का दिइएको  सडक चौडाइ गरेर ग्राभेल गर्ने काम सम्पन्न भएको छ  ।

त्यस्तै  ओखलढुंगाको सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती रुम्जाटार सडकखण्डअन्तर्गत सिस्ने खोलामा दुई वर्षमा बनाई सक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

के.एम. इन्जिनियर्स बिल्डर्स प्रा.लि. काठमाडौंले २०७९ साल असार २४ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको ३५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको प्रिस्टिस आरसिसी पुल एक वर्षभित्रै निर्माण सम्पन्न गरिएको छ ।

सिस्नेखोला पुल स्थानीय सडक पुल कार्यक्रम, स्थानीय सडक पुल सहयोग इकाइको सहयोगमा भ्याटसहित पाँच करोड ४४ लाख चार हजार ४२ रुपैयाँ २१ पैसा लागतमा निर्माण गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।