नेकपा एमाले एकता सशक्त बन्दा कांग्रेस सभापति देउवा संशकित

नेकपा एमाले एकता सशक्त बन्दा कांग्रेस सभापति देउवा संशकित

कपन अनलाइन

काठमाण्डौ ,असार १।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाब समेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिल समेत गरेकाले तीन वटै समूह सहमति नजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।

देउवा संशकित
एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् । सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।
एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ । एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर, नेपाल र देउवाबीच केके कुराकानी भयो खुलाइएको छैन । राजधानी दैनिकबाट

तपाइँको प्रतिक्रिया ।