खोप प्रकरणमा गोकर्णेश्वर नगरपालिकाको कथा पनि उस्तै ..
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३१।
कोरोना विरुद्धको खोप लगाउने समयमा भएका विभिन्न घटना र प्रकरणले अहिले स्थानीय तहको माहोल निकै तताएको छ। जनप्रतिनिधि ,कर्मचारी र राजनीतिक दलका नेता कार्यकर्ताहरुले परिस्थितिको आंकलन सहि ढंगले नगरी खोपमा खेल गर्न खोज्दा उक्त खेलको नतिजा आत्मघाती भएको छ।
कोरोना खोप गएका सबै स्थानीय तहमा यस्तै कथा रहेको भएता पनि यहाँ गोकर्णेश्वर नगरपालिकाको कथा उल्लेख गरिएको छ। यस नगरपालिकाको छिमेकी बुढानिलकण्ठ नगरपालिकाको खोप प्रकरण केन्द्र बाट नगरपालिकाको कार्यालय सम्म पुगेर तमासामा परिणत भएको थियो। तर गोकर्णेश्वर नगरपालिकामा भने खोप केन्द्रमा नै अनेक रोचक र घोचक दृश्य घटित भएका थिए।
रवाफ,दवाव,प्रभाव र मतको लोभमा परेका जनप्रतिनिधि,पहिलो निर्वाचनमा भोगेको नमिठो हारको बदला लिन हतारिएका र आफ्ना मान्छे छिराउन कोसिस गर्ने विपक्षी दलहरु,मौकाको फाइदा उठाई हालौ भन्ने नगरवासी,तुजुक र तागत देखाइदिने बुद्दिजीवी लगायत ठुलो पंक्तिले खोपमा खेल गर्न खोज्दा गोकर्णेश्वरका चामुण्डा र सहयोगी खोप केन्द्रको रमिता हेर्न लायकको थियो।
जेष्ठ नागरिकहरु घन्टौ लाइनमा बसिरहेका थिए खोपको आशमा तर पहुँचवालाहरु खासखुस र छास छुस पार्दै सुरु सुरु खोप लगाइरहेका थिए। त्यहा त् झन् गजब के थियो भने सबै आफु र आफ्ना मान्छे छिराउने चक्करमा विरोध वा प्रतिवादको चाइ चुइ केहि थिएन। सामाजिक संजाल र खोप केन्द्रमा केहि व्यक्तिले विरोध गरेपनि ति व्यक्ति आफु र आफुले भनेका केहिलाई खोपमा सेटिंग मिलाए पछी संजाल बाट बिलाएका थिए।अझ रोचक त बुढानिलकण्ठ जगडोलका सयौले गोकर्णमा खोप लगाउने शौभाग्य समेत पाएका थिए।
भगवानले एक पटक मात्र दिएको अलौकिक बस्तु झैँ मानेर खोप केन्द्रमा दवाव र प्रभावका पेटारा खोल्ने प्रसस्त देखिन्थे भने कतिपय सुटुक्क खोप लाउने आसमा जनप्रतिनिधिलाई छायाले झैँ पछ्याईरहेका थिए।
यसरी खोपमा खेल गर्ने प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका अव जम्मा ३२९ दिन कार्यकाल भएका जनप्रतिनिधि, नगरका राजनीतिक दलका प्रतिनिधि , बुद्दिजीवी,सामाजिक अगुवाहरु अब्बल खेलाडी सावित भएका थिए।
उनीहरु सबैले जितेको यस प्रतियोगितामा हारेका थिए त आफ्नो अधिकारमा आएको खोप लाउन चर्को घाममा घन्टौ लाइन बसेका सम्मानित जेष्ठ नागरिक अनि लज्जाजनक तमासले शिर निहुरिएका गोकर्णेश्वर नगरवासी।
यो सबै घटना पछी अहिले नगरपालिकामा ५ वटा भेरोसेल खोप सुरक्षित मौज्जात रहेको छ।