कीर्तिपुर नगरपालिकामा बालश्रम बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३० ।
“अहिल्यै काम थालौ ,बालश्रमको अन्त्य गरौ” भन्ने नाराका साथ अन्तर्राष्टिय बालश्रम विरुद्धको विश्व दिवसको सन्दर्भमा बाल विकास समाज नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा कीर्तिपुर नगरपालिका तथा नगरस्तरीय बालक्लब संजालको आयोजनामा बालबालिकाको प्रतिभा प्रस्तुती तथा बालश्रमका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्चुअली भएको अन्तरक्रिया कार्यक्रममा बालश्रम विरुद्ध सबैले संगठानिक आवाज उठाउनु पर्ने कुरामा जोड दिइएको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका कार्यपालिका सदस्य सुमन पोखरेल, बालअधिकार समितिका सदस्यसचिव ज्ञान बज्र महर्जन, नगरस्तरीय बालक्लव सन्जालका अध्यक्ष रामकृष्ण बस्नेत, नगरको सामाजिक विकास शाखा प्रमुख अनुज प्रधान वल्ड भिजनका प्रतिनिधि अन्जु भट्टराइ साथै बाल विकास समाजका प्रतिनिधि कृष्णप्रसाद सुवेदीले बालश्रम विरुद्धमा आफना भनाइहरु राखेका थिए ।
वक्ताहरुले बालश्रम विरुद्धको विश्व दिवसको महत्वका बारेमा उल्लेख गर्दै साझेदारी सहयोगी संघसंस्था तथा स्थानीय सरकारले आवश्यक बजेट तथा योजनासहित एकिकृत कार्यक्रमहरु अगाडी बढाउन सकेको अवस्थामा बालश्रम अन्त्य गर्नका लागि आधार तयार हुने बताएका थिए। बालश्रम अन्त्य गर्न स्थानीय तहहरुले अझै थुप्रै कामहरु गर्न बाकी रहेको र यस अभियानमा सहयोगी संघसंस्थाहरुको सहयोग पनि आवश्यक हुने कुरालाई जोडदार रुपमा उठान गरिएको थियो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाले बालश्रम अन्त्य गर्ने अभियान सुरु गरिसकेको र बालबालिकाहरुका लागि नगरपालिकामा आवश्यक वजेटसमेत विनियोजन गरेर काम गर्न थालिएको कुरा पनि नगरपालिका प्रतिनिधिले बताएका थिए । यसैगरी बालबालिकाहरुको विभिन्न संरक्षणका सवालहरुलाई पनि छलफलमा उठाइएको थियो ।
बालबालिकाहरु विभिन्न श्रम जोखिममा रहेका विभिन्न किसिमका दुव्र्यवहारहरु अझैपनि बालबालिकाले भोग्नु परिरहेको कुरा कार्यक्रम सहभागी भएका बालबालिकाहरुले राखेका थिए । बाल विकास समाज तथा वल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा बालश्रम निवारणका लागि केही कार्यक्रम स्थानीय तहसँग प्रत्यक्ष समन्वय गरी सञ्चालन भइरहेको भए तापनि बालश्रम अन्त्य गर्ने अभियान यतिले मात्र पर्याप्त हुने कार्यक्रममा सहभागी वक्ताहरुको भनाइ थियो ।
विषेशगरी बालश्रम अन्त्य गर्ने जिम्मेवारीमा स्थानीय तह अर्थात स्थानीय सरकार रहेकोले स्थानीय सरकारले आवश्यक अनुगमन तथा नियमनमा पनि जोड दिन आवश्यक रहेको कुरापनि छलफलमा उठाइएको थियो ।
कार्यक्रममा बालबालिकाहरुले आ आफ्नो प्रतिभासमेत देखाएका थिए भने सोही कार्यक्रमको सञ्चालन कीर्तिपुर नगरस्तरीय बालक्लव सन्जालका पदाधिकारी स्मृती महर्जन र प्रेक्षा अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा बाल विकास समाज तथा वल्डभिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने काठमाडौं महानगरपालिका वडा नं. १६ का बालबालिकाहरुकोसमेत सक्रिय सहभागिता रहेको थियो ।