एमाले महासचिव ईश्वर पोखरेलको कल्पना : स्वर्ण सगरमाथा वृहत चक्रपथलाई ४२ करोड बजेट

एमाले महासचिव ईश्वर पोखरेलको कल्पना : स्वर्ण सगरमाथा वृहत चक्रपथलाई  ४२ करोड बजेट

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।
सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माण गर्न आगामी वर्षका लागि सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो ।
निर्माणाधिन स्वर्ण सगरमाथा वृहत चक्रपथलाई बहुवर्षिय योजनाका रुपमा अघि बढाएर सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले ४२ करोड बजेट विनियोजन गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए ।

नयाँ आर्थिकवर्ष सुरु भए लगत्तै ४२ करोडको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका ३ जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाई छ । ‘निवर्तमान उपप्रधानमन्त्री इश्वर पोखरेलको अवधारणा अनुसार अघि बढेको यो राष्ट्रिय गौरवको योजना हो ।

यसले सडक विकासमा पछि परेका दुर्गम जिल्लामा समृद्धि ल्याउँछ ।’ मन्त्री गुरुङले भने, ‘अहिले धमाधम काम भईरहेको छ । बजेट अभाव नहोस् भनेर ४२ करोड बजेट थप गरिएको छ । क्रमागत रुपमा हामी बजेट व्यवस्थापन गरेर आयोजना सम्पन्न गर्छौ ।’ ओखलढुंगा सदरमुकाम नजिक विप्लाटेबाट निर्माण सुरुभएको स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरीहुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरि ओखलढुंगा जोडिने छ ।
स्वर्ण सगरमाथा वृहत चक्रपथ आयोजना कुल १ सय ३५ किलोमिटरको हुने अनुमान गरिएको छ । अहिले ओखलढुंगाबाट सोलुखुम्बुको सुकेपोखरी सम्म ७५ किलामिटरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ ।

ओखलढुंगाको विप्लाटेबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका हुँदै थुलुङ दुधकोशी गाउँपालिकाको पन्चन सम्म ३८ किलो मिटर सडकमा २ वटा ठेक्का मार्फत काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख अरुणकुमार लाल कर्णले बताए । २ मध्ये एउटा ठेक्काको काम सकिएको र अर्को निर्माणकै चरणमा रहेको उनको भनाई छ । चालु आवमा स्वर्ण सगरमाथा वृहत चक्रपथका लागि १४ करोड आएको थियो ।
निवर्तमान उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्नो जन्मभूमि ओखलढुंगाको चिशंखुगढीमा केही महिनाअघि आयोजित कार्यक्रममा स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि आगामी वर्ष यथेष्ट बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका थिए । ‘यसक्षेत्रको भाग्य र भविष्यसँग जोडिएको स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणको काम अघि बढिसकेको छ ।

अब तत्काल बजेट व्यवस्थापन गरेर त्यसलाई तिव्रता दिईने छ । त्यसका लागि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीज्यूले यहाँबाट पहल थाल्नुस् म माथि बजेट पठाउन लाग्छु ।’ पोखरेलले भनेका थिए, ‘यो चक्रपथ निर्माणपछि यसक्षेत्रमा विकासका अन्य थुप्रै ढोकाहरु खुल्नेछन् । पूर्वाधार विकासले गाउँको समृद्धि त हुन्छ नै जनताको जिवनस्तर उकास्न मद्दत पुग्नेछ ।’

एमाले महासचिव पोखरेले कल्पना गरेको स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणलाई गौरवको योजनाका रुपमा अघि बढाउन नेकपा एमालेले विगत देखिनै आफ्ना घोषणा पत्रमा समेट्दै आएको थियो । माथिल्लो सगरमाथा क्षेत्रका ३ जिल्लाका स्थानीय नेताहरुले पनि यो आयोजनालाई महत्व दिँदै आएका छन् ।
निवर्तमान उपप्रधानमन्त्रीले प्रतिवद्धता जनाएको योजनामा बजेट पार्न प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ निरन्तर लागिपरेका थिए । विगतमा जिल्लास्तरबाट पहल नहुँदा यो सडकमा पर्याप्त बजेट विनियोजन हुन सकेको थिएन ।
मन्त्री गुरुङको निर्वाचन क्षेत्र ओखलढुंगा (क) मा पनि उच्चस्तरीय चक्रपथ आयोजनाको काम चलिरहेको छ । प्रदेश सरकारले सुरु गरेको योजना अहिले संघ सरकारको राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत भईसकेको छ ।
स्वर्ण सगरमाथा वृहत चक्रपथ र निर्वाचन क्षेत्रस्तरीय उच्चस्तरीय चक्रपथले ओखलढुंगाको आधा भन्दा बढी भूभाग समेटिने छ ।

तपाइँको प्रतिक्रिया ।