सकारात्मक सोच र व्यवहार : गीतादेवी दाहाल ‘सम्झना’

सकारात्मक सोच र व्यवहार : गीतादेवी दाहाल ‘सम्झना’

कपन अनलाइन 

काठमाडौं जेठ २५ ।

व्यक्तिको सोच अनुसार नै उसले कर्म गर्दछ । मानिसको व्यवहारका लागि सकारात्मक सोच नै सबैभन्दा महत्वपूर्ण पक्ष हो । सोच सही छ भने उसले गर्ने हरेक क्रियाकलाप सही हुन्छन् । जुनसुकै सानोदेखि महान् कार्य सबै सोचका नै परिणाम हुन् ।
एउटाले सोचेको अर्काले देख्दैन । अनि, सोचाइका क्षेत्रमा हरेक सोच्नेले आफूलाई विद्वान् अर्कालाई बुद्धू मानिरहेको हुन्छ । कामका प्रत्येक चरणमा हेर्ने हामीले सोचेका हुँदैनौँ । अर्काले दुःख पाएको देख्ता सल्लाह दिन पुग्छौँ, उसका ठाउँमा उभिएर हेर्ने सोचाइ हामीमा नआउँदा अर्कालाई अर्ती दिन्छौँ, अनि आफूलाई पर्दा रुन्छौँ ।
मानिसले गर्ने हरेक असल र खराब कर्म सोचका नै परिणाम हुन् । व्यक्तिका जुनसुकै कार्य सोचबाट नै निर्धारण भएका हुन्छन् । कर्म अनुसारको परिणाम हुन्छ अर्थात् उसले जस्तो सोच बनाउँछ उस्तै परिणाम आउँछ । दुर्गा सप्तशती अर्थात् चण्डीमा ‘‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’’ भन्नुको वास्तविक अर्थ यही हो ।
जब व्यक्ति हरपल हरक्षण शुभ सोच्न सुरु गर्छ उसलाई संसार आनन्द र खुल्ला लाग्न थाल्दछ । वास्तवमा भन्ने हो भने यो पृथ्वीमा व्यक्तिले जन्म लिएपछि मात्र एउटा सत्य हुन्छ, उसका जीवनमा आउने मृत्यु । मृत्युको कुनै पनि ठेगान छैन, तर त्यो सत्य हो । व्यक्तिले आखिर जन्मेपछि एकदिन अवश्य मर्नु नै छ भन्ने सोचेर आफुले बाँचुन्जेल सत्कर्ममा मन लगाउनु जरुरी छ । व्यक्ति यस धर्तीमा कति वर्ष बाँच्यो, त्यो ठूलो कुरा होइन, उसले बाँचुन्जेल के कति सत्कर्म गर्यो  त्यो ठूलो कुरा हो ।
प्रश्न आउँछ, अब यो सत्कर्म भनेको के हो ? मानिस समूहजीवी हो । मानिस बौद्धिकताजीवी हो । मानिस चिन्तनजीवी हो । मानिस अभिव्यक्तिजीवी हो र समर्थन दिएका आधारमा समर्थन लिएर बाँच्ने सहकर्मजीवी हो । जुन कर्मले समूह, बौद्धिकता, चिन्तन, अभिव्यक्ति, सहकर्ममा सहयोग पुग्छ वास्तवमा सत्कर्म त्यही हो । सत्कर्मका यस्ता अरु पनि धेरै लक्षण छन् । धर्म र पाप शब्दका आधारमा हाम्रा शास्त्रले सत्कर्म र असत् कर्मको सीमाङ्कन गरेको छ ।
आखिर मृत्युले सदैव हाम्रो ढोका ढकढकाइ रहेको छ, यसैले बाँचुन्जेल सत्कर्म गरेर देशलाई उन्नति र प्रगतिको पथमा पु¥याउने खालका कार्यमा लाग्न सबैको सकारात्मक सोच हुनु जरुरी छ । हामीले महान् व्यक्ति भनेर जति पनि व्यक्तिहरुको नाम लिन्छाँै र राम्रा कामको प्रशंसा गर्छौँ आखिर उनीहरु सबै हामी जस्तै व्यक्ति हुन्, फरक छ त मात्र सोचमा । उनीहरु महान् सोचका कारणले नै मरेर पनि अमर रहेका छन् ।

हाम्रो जस्तो रमणीय र सुन्दर देश नेपालमा बसोबास गर्ने र अनेकतामा पनि एकता भएको देशमा त झन शुभ सोच भयो भने देश विकासले चाँडै नै गति लिन सक्तछ । प्राकृतिक स्रोत, साधनले भरिपूर्ण देशमा रहेका हामी नेपालीहरुले देश विकासको लागि शुभ सोच्न सक्यौँ भने चाँडै नै देशको विकासले गति लिनेछ ।
हिमाल, पहाड, तराईमा बसोबास गर्ने हामी सबै नेपालीहरुले हाम्रो जात नेपाली र हाम्रो देश नेपाल हो भनेर सोच्न आवश्यक छ । तब मात्र एकै जातका नेपालीहरु बसोबास गर्ने नेपालको उन्नति, विकास र समृद्धि सम्भव छ ।

हामी जुनसुकै भुगोलमा क्षेत्रमा बसोबास गरे पनि हामी नेपाली हौ  भन्ने राष्ट्रिय भावना प्रत्येक नेपालीहरुमा जागृत हुनुपर्छ । जब हामी नेपाली र हाम्रो देश नेपाल हो भन्ने भावना जागृत हुन्छ तब मात्र प्रत्येकले हामीलाई देशले के दियो मात्र नसोचेर हामीले देशलाई के दियौ  भनेर सोच्न बाध्य हुनेछन् । सबैमा राष्ट्रियताको भावना जागृत भएपछि हरक्षेत्रमा विकास सम्भव छ ।
जुनसुकै कार्य गर्नका लागि सोच, कल्पना, सपना आदिको महत्वपूर्ण भूमिका रहन्छ । यदि देश विकासका लागि राम्रा खालका योजनाहरु जुनसुकै पार्टी, व्यक्तिले ल्याएको भएपनि जनतालाई कुनै फरक पर्दैन जनताको चाहना त समृद्ध नेपाल हो यसैले शुभ सोचलाई हौसला, साथ, सहयोग र प्रेरणा दिन सक्नुपर्छ । जसले गरेको भए पनि राम्रो कामलाई सम्मान गर्न सक्नुपर्छ ।
जुनसुकै व्यक्तिले जुन पेशा, व्यवसाय कार्य गरेको होस्, ऊ जति नै महान् होस्, यो सबै उसको सोचको परिणाम हो । वास्तवमा हामीले आफ्नो सोचलाई सकारात्मक बनायौं भने हामीलाई सबै वातावरण सहज लाग्न थाल्छ ।

आएका सबै परिस्थितिहरु पनि सहजरुपमा सामना गर्न सक्षम हुन्छौं यही सोचलाई नकारात्मक बनायौैं भने पुरै संसार अध्यारो चारैतर्फ बाटाहरु बन्द भएको जीवनमा केही पनि गर्न नसकिने जस्तो आभास हुन्छ यसैले सदैव आफूमा सकारात्मक सोचले हरेक कुरा सम्भव छ ।

असहज परिस्थिति पनि सहज रुपमा सामना गर्न सकिन्छ । सदैव शुभ र सकारात्मक सोच राख्नु नै मानव जातिको लागि अति नै श्रेयष्कर छ।
सकारात्मक सोचको प्रभाव पनि सकारात्मक नै पर्छ ।

जहिले पनि सकारात्मक धारणा प्रस्तुत गर्नुपर्छ । परिवारका सदस्यहरुको बारेमा सकारात्मक धारणा अरुसँग प्रस्तुत गर्यौं भने आफूमा पनि सकारात्मक प्रभाव नै पर्छ विचारको प्रभाव बडो प्रभावशाली हुने हुुनाले सदैव विचारलाई सकारात्मक बनाउने प्रयत्न गर्यौं भने आफू, आफ्नो परिवार , समाज लगायत राष्ट्रमा नै त्यसको प्रभाव पर्छ भनिन्छ नि जो जस्तो छ उसले अरुलाई पनि आफू जस्तो नै देख्दछ यसैले ‘दोष सृष्टिमा होइन, दृष्टिमा हुन्छ ।’ यस कारण हाम्रो दृष्टि हरेक पक्षमा सकारात्मक हुन जरुरी छ ।

तपाइँको प्रतिक्रिया ।