जनतालाई दिने जवाफ के छ ?

कपन अनलाइन\माघ ८,२०७१

एक युगमा आउने संविधानसभा चुनाव नेपालमा एक दशक नै नभई दुई पटक आइसक्यो । उपलब्धीहीन संविधानसभा चुनावले जनतालाई आर्थिक भार बोकाउने सिवाय अरु कुनै हितका काम गर्न सकेन । पहिलो संविधानसभाबाट असफल बनेका नेताहरू पुनः दोस्रो संविधानसभामा आफूहरू सुध्रिएको प्रतिबद्धता पत्रहरू बोक्दै हिँडेका भए पनि समस्या ज्यूँको त्यूँमा रह्यो ।

 

पछिल्लो समय दोस्रो संविधानसभाले तोकेको मितिमा संविधान जारी हुनेमा आशावादी रहेका जनतालाई पनि नेताले आफ्नो असली रुप देखाइ छाडे । मध्यरातमा बोलाइएको बैठकमा कुर्सी हानाहान भएको खबरले त झन् जनतालाई कति पीडा भयो होला ? त्यो खुट्याउन सक्ने क्षमता राजनीतिक पार्टीहरूमा भएको भए यो अवस्थासम्म आइपुग्नुपर्ने थिएन होला । सुन्दर, शान्त, सम्बृद्ध नेपाल बनाउँछु भन्ने नेता आफैँ लड्न थालेपछि संविधानसभा भएका केही उल्लेखनीय काम पनि ओझेलमा परेका छन् ।

 

पटकै पिच्छे म्याद सारेर पनि संविधान बनाउन असफल भएपछि भएको संविधानसभाको दोस्रो चुनाव । आज दोस्रो चुनावपछि तोकिएको एक वर्षको अवधि पनि सकिन लागेको छ । एक वर्षको अवधिसम्म जसरी भए पनि संविधान ल्याउने प्रतिबद्धता व्यक्त गर्दै हिँड्ने नेताहरू माघ ८ गते कुन मुख लिएर जनतामाझ पर्छन्, त्यो त उनीहरूलाई नै थाहा होला ? जे कामका लागि पठाइएको हो त्यसको जगपत्तै थाहा नभएपछि कसरी पूर्णता पाउला कामले पनि । आफ्नो दायित्व र कर्तव्य नै बिर्सेपछि कसको के लाग्छ र ? नेपाली राजनीतिज्ञको पनि योभन्दा फरक स्वरूप रहेन । हरेक सभा सम्मेलनको उद्घाटन, संघसंस्थाका वार्षिकोत्सव, विभिन्न संघसंस्थाबाट आयोजित चियापान कार्यक्रममा माघ ८ गते संविधान ल्याउने मन्त्र जप्दै हिँड्ने नेताहरूको क्यालेन्डरमा माघ ८ गते नै छैन कि जस्तो लाग्न थालिसक्यो । यदि थियो भने त पक्कै केही न केही पहल गरिहाल्थे होलान् ।

 

सधैँ सत्ताको लोभलालसामा मात्र झुम्मिरहने नेताहरूको बानी कहिल्यै नसुध्रेको कुरा भनिरहन नपर्ला । संविधान भनेको आकाशको फल जस्तो भएको यो अवस्थामा अब पनि के म्याद नै थप्ने हो र नेताज्यूहरू ? हुन त सहमति र म्याद थप भन्न कहिल्यै पछि नपर्ने नेपाली राजनीतिज्ञहरू जति नै आपसमा झैझगडा गरे पनि आखिर म्याद थप्ने बेलामा त एउटै बोली बोलिहाल्छन् । फलानो पार्टीको कारणले संविधान बनाउन नसकेको भन्दै दोषारोपण गर्ने प्रवृत्ति पनि पुरानै भइसक्यो अब त कुनै नयाँ उपाय सोच्ने हो कि जनता छक्याउन ।

तपाइँको प्रतिक्रिया ।