कमरेडलाई प्रश्न : हेमचन्द्र दाहाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५ ।

अन्त्य हुदै गरेको राजतन्त्र

अनि मौलाउदै गरेको

गणतन्त्रको भुमरीमा

फसेका ती गरिव जनतालाई

के नै दियौं र कमरेड?

 

पढेर केही गर्छु भनी

विद्यालय गएकी मेरि दिदिलाई

पढ्नु पर्दैन भनी उतै उतैबाट

युद्धमा लागि

बेरोजगारीको उपाधी बाहेक

अरु के नै दियौं र कामरेड?

 

हलो जोत्दै गरेको

मेरो ठुल्दाइलाई

राजतन्त्रको अन्त्य गर्न भनी

युद्धमा लगेर उतै उतैबाट

बेपत्ता पर्यौ

आखिर राणा शासन भन्दा

फरक के नै दियौं र कमरेड?

 

तिम्रो समर्थनमा बोल्दाखेरी

सरकार पक्षबाट मर्यो भनी

फ्यालेको मेरो माल्दाइ

तिमी सरकारमा पुगेपछि

कहिल्यै कस्तो छ भनी

सोध्यौ र कमरेड?

 

निमुखाको सरकार बन्छ भनी

ल्याएको गणतन्त्र

फेरि कोरोना कहर

अनि त्यो लामो लक्डाउनको लागि

जनतालाई पाँच केजी चामल

अनि राष्ट्रपतिलाई

महङ्गो कार्पेट बाहेक

अरु के नै दियौं र कामरेड?

 

जनतालाई गणतन्त्र आएको

अनुभव

कसरी दियौं र कमरेड

कहिले दिलायौ र कमरेड?

त्यही निरङ्कुश पन्चायती

शासक भन्दा फरक व्यवहार

कसरी गर्यौ र कमरेड?

 

त्यसैले गणतन्त्र हटाएर

नयाँ निरङ्कुश

भनी नामाकरण गरे

कसो होला त कमरेड?

तपाइँको प्रतिक्रिया ।