अझैपनि बन्न सकेन सहमति

वहुजातीय ८ वा ६ देखि १५ को खुला प्रदेश बनाउन कांग्रेस–एमालेको प्रस्ताव,  माओवादी भने एकल पहिचानको

संविधान सभाको म्याद सकिन अब दुइ दिन मात्रै बाँकी रहेपनि दलहरुबीच अझै सहमति जुट्ने छाँट देखिएको छैन । राज्य पुनर्संरचना लगायतका विवादित विषयमा सहमति खोज्न आज पटक पटक वार्ता भएपनि दलहरु आ–आफ्ना अडानबाट पछि हटेका छैनन् । मधेशी मोर्चासहित प्रमुख तीन दलका शिर्ष नेताहरुबीच अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल पनि विना निष्कर्ष टुंगियो । वैठकमा कांग्रेस र एमालेले बहुपहिचानका ८ प्रदेश, साझा नामका ११ प्रदेश सहित तत्काल संविधान जारी गर्न वा रुपान्तरित संसद र संघीय आयोगबाट टुंग्याउने गरी ६ देखि १५ प्रदेश बनाउने गरी संविधान जारी गर्न प्रस्ताव गरेका छन् । तर माओवादी र मधेशी मोर्चाले त्यसलाई अस्वीकार गर्दै एकल पहिचानसहितको १० वा १४ प्रदेश नै बनाउनु पर्ने अडान दोहो¥याई रहेका छन् । माओवादी र मधेशी मोर्चा लचक नभएपछि आज दिनभरको सहमति प्रयास निरर्थक भयो ।

कांग्रेस–एमाले नेताहरुले माओवादी र मधेशी मोर्चामा रहेको सत्ताको धङधङ्गीका कारण सहमति जुट्न नसकेको आरोप लगाएका छन् ।

तर माओवादीले भने कांग्रेस–एमाले संविधान सभा तुहाउने खेलमा लागेको आरोप लगाएको छ ।

चार दलका शिर्ष नेताहरुबीच भोलि पुनः छलफल हुने नेताहरुले बताएका छन् । आजै विहान माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको बैठकमा मूख्य तीन दल जेठ १४ गते भित्र संविधान जारी गर्ने विषयमा सकारात्मक रहेको वताएका थिए ।

तपाइँको प्रतिक्रिया ।