धरानमा हतियारधारी समुहद्वारा प्रहरी चौकीमा आक्रमण

धरानमा हतियारधारी समुहद्वारा प्रहरी चौकीमा आक्रमण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन्।आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते छन्।

स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन चौकी आएका थिए। तत्कालै केही युवा आएर उनीहरूमाथि आक्रमण गर्न थालेका थिए।

उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए। जाहेरी दिन आएका व्यक्तिसँग दाहालले जानकारी लिरहेका बेला एक्कासी युवा प्रवेश गरी खुकुरी प्रहार गरेका थिए।

आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असई दाहालको बायाँ हातमा चोट सामान्य लागेको छ। घाइते दाहालको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले उजुरी गर्न आएका दुवैलाई जोगाएको थियो। उनीहरूलाई फोनमा धम्की दिनेहरूले नै आक्रमण गरेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

वडा नम्बर १५ को वडा कार्यालय सामुन्ने रहेको चौकीभित्रै साँझ ७ः३० बजे आक्रमण भएको वडा नम्बर १५ का वडाध्यक्ष नरेशकुमार इवारमले बताए।आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार प्रहरी कार्यरत थिए।

तपाइँको प्रतिक्रिया ।