पशुपति विकास कोषमा ब्रम्हलुट गर्नेहरुको नालीबेली
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
कहीँ नभएको जात्रा हाँडीगाउमा भनेजस्तै पशुपति क्षेत्रभित्र पनि विभिन्न जात्राहरु हुने गर्छन् । अहिले पशुपति क्षेत्रमा सबैले देखिरहेको जात्रा चाहिँ नवनियुक्त पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य देवीप्रसाद बरालले देखाएका हुन् । प्रसंग उनको नियुक्तिबाटै सुरु हुन्छ । कांग्रेसका केही नेताहरुका साथै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव केदारबहादुर अधिकारीलाई ठूलो आर्थिक प्रभावमा पारी योगेश भट्टराई पर्यटन मन्त्री हुँदा उनी कोषको सदस्यको नियुक्त भएका हुन् ।
सतापक्ष एमालेभित्रबाट साथै स्थानीय तहबाट धेरै ठूलो विरोध भइसकेपछि बरालको नियुक्तिपत्र उनको गोजीमै थन्किन्छ । साथै नियुक्ति हुने सपना तुहेर जान्छ । बरालमा यस्तो रोग छ कि उनी सरकारी संस्थाको राजनीतिक नियुक्ति नभई खाली बस्नै सक्दैनन् । पद खाली देख्नै हुँदैन, बरालका त्रिनेत्र खुलिहाल्छन् । नेपाल वायुसेवा निगमको सदस्य हुने दाउमा रहेका उनी त्यहाँ नभएपछि कोषको सदस्य नियुक्ति लिन सफल भएका थिए ।
पशुपतिको नाममा कमाउने दाउमा बराल
उदयपुर सिमेन्ट कारखानामा परिषद सदस्यको पद खाली देखेपछि लहानका ठुलै हार्डवेयर व्यवसायीको आर्थिक कसरतमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नियुक्ति लिएर बराल उदयपुर पुग्छन् । लहानका मित्तल थर भएका व्यवसायीसँगको साँठगाँठ भने बराल नेपाल आयल निगमको कर्मचारी रहँदादेखि नै थियो । तर उनको जात्रा यतिमै सकिदैन । यता पर्यटन मन्त्री भानुभक्त ढकाल भएसँगै फेरि पशुपति क्षेत्र विकास कोषमा परिषद सदस्य हुने अधुरो सपना पूरा गर्नतर्फ लाग्छन् ।ढकालसँग मेरो अपुरो नियुक्ति पूरा गरिदिनु भनी पाउ परेर यसपटक नियुक्ति लिन उनि सफल भएका हुन् ।
अचम्मको कुरा के छ भने उदयपुर सिमेन्ट कारखानाको बोर्ड सदस्य हुँदाहुँदै पशुपति क्षेत्र विकास कोषमा सदस्य नियुक्ति गर्नु कानुन विपरीत त । दुई वा दुईभन्दा बढी सरकारी निकायको परिषद सदस्यमा एकैपटक नियुक्ति हुने प्रावधान कानुनमा छैन । सेवा, सुबिधा, भत्ता लिए पनि, नलिए पनि एक भन्दा बढी निकायमा यसरी नियुक्ति दिनु कानुन विपरीत हो । उनको कोषमा नियुक्तिसँगै मन्त्रालयभित्र आन्तरिक रुपमै ठूलो अन्तर विरोध भएको थियो । यसरि नियुक्ति भएको पाइएमा सबै निकायको नियुक्ति खारेजी हुने प्रावधान रहेको छ ।
बरालको यक्तिगत छवि जति नै नराम्रो भए पनि कोषका कर्मचारीहरुले स्वागत गर्न बाध्य भएका छन् । उनी नियुक्ति भएको तेस्रो दिन कोषका अन्य सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममै बरालले प्रश्न र प्रस्तावको वर्षा गर्छन् । सदस्यहरुले पाउने सेवा सुविधा थप गर्नुपर्ने, भत्ता बढाउनुपर्ने, हरेक सदस्यलाई महिन्द्राको स्कर्पियो गाडी किनिदिनुपर्ने, हरेक सदस्यले स्वकीय सचिव राख्ने र सो स्वकीय सचिवको सम्पूर्ण सेवा सुविधा कोषले ब्यहोर्नुपर्ने, उदाहरणको रुपमा राष्ट्रिय योजना आयोगका सदस्यहरुको जतिकै सेवा सुविधा अनिवार्य रुपमा पाउनुपर्ने माग मन्त्रालयमा सम्पूर्ण सदस्यहरु मिलेर पेश गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले कोषबाट हुने ठेक्काको कति प्रतिशत कमिसन आइरहेको छ ? भागबन्डा कसरी हुन्छ ? आफूलाई ठेक्का कसरी पार्ने ? चलिरहेका ठूला परियोजना के के छन् जस्ता प्रश्न पनि गरेका छन् । यदि हामी सदस्यहरु एक ढिक्का भएर काम गर्न सक्ने हो भने बार्षिक रुपमा धेरै ठुलो आर्थिक आम्दानी गर्न सकिने र हाम्रो सचिवालयलाई हाम्रै अनुकूलमा नचाउन सकिने भनी प्रलोभन देखाउँछ्न् । उनको कुरा सुनेर सबै जना अचम्ममा परेका छन् । बोर्ड सदस्यलाई भत्ता बाहेक अरु सुविधा हुँदैन तर उनले त स्कोर्पियो गाडी नै मागेपछि कोषका पदाधिकारी नै उनी कोषमा आउनुको उद्देश्य नबुझेर हैरान भएका छन् ।
मन्दिरमा सेवा गर्न आएका हुन् कि ठेकदार बन्न आएका हुन्, बोर्ड बैठकमा उनको प्रस्तुतिले यस्तो प्रश्न प्रश्न उठेको अर्का सदस्य ध्रु्रब उप्रेतीले गरेपछि दुई सदस्यहरु विवाद नै भएको थियो । कमिसन र गाडीका कुरा आएपछि उप्रेती र बरालबीच ठुलो चर्काचर्की नै परेको थियो । सो बैठकमा उनको कुराको पक्षमा सदस्यहरुमध्ये आशा पाण्डे र भगवतीप्रसाद देव देखिएका छन् । उनीहरुको बरालसँग हिमचिम बढेको छ । केही समय पश्चात नियुक्त भएका उद्धवप्रसाद बडालले समेत बराललाइ साथ दिएका छन् । तीन जना सदस्यलाई आफ्नो पकडमा पारिसकेका बराललाई अब कोषका कर्मचारीहरुलाई हातमा लिनु थियो, उनले विभिन्न ठूला प्रशासकदेखि मन्त्रीको नाम लिएर सरुवा बढुवा गराउन सक्ने, अख्तियारमा लागेका मुद्दाहरु समेत मिलाउन सक्ने भनी कर्मचारीहरुलाई प्रभावमा पार्ने काम सुरु गर्न सुरु गरे ।
कोषका कर्मचारीसँग यसरी मिलाए बरालले साँठगाँठ
कोषका कर्मचारीहरुमध्ये मानव संसाधन महाशाखा प्रमुख निर्देशक भोलाप्रसाद सिटौला र योजना महाशाखा प्रमुख निर्देशक भरत मरासिनीलाई भने अनुसारको पैसा खर्च गर्न सकेमा पद खाली भएसंगै अथवा जस्तोसुकै साम दाम दण्ड भेद लगाएर भएता पनि चाँडो भन्दा चाँडो कार्यकारी निर्देशक तथा कोषाध्यक्ष पद दिलाउने प्रलोभन देखाई आफ्नो हातमा लिएका छन् ।
पद खाली कसरी गराउने र पदमा कसरी नियुक्ति दिने सबै पहुँच र क्षमता आफूसँग भएको दाबी गर्दैै उनले सिटौला र मरासिनीलाई प्रभावमा पारेका छन् । उनले यतिसम्म पनि कि उक्त पदमा बसी काम गर्न सहज बनाउन सदस्य सचिव समेत आफू निकटकै नियुक्ति गर्न जस्तोसुकै कसरत समेत गर्ने भन्ने गरेका छन् । बरालको निमन्त्रणामा विभिन्न ठुलाठुला व्यापारी तथा ठेक्केदारहरुसँग तारे होटेलको बन्द कोठामा भरत मरासिनी, भोलाप्रसाद सिटौलाहरुको उठबस चल्ने गरेको जानकारी स्रोतहरुबाट प्राप्त भएको छ ।
बरालको डिजाइनअनुसार ठेक्काको कमिसन नमिलेमा आफ्नो शाखामा आएका फाइलहरु अगाडि बढ्न नदिने, अड्काउने, लुकाउने, अग्रिम रुपमा कमिसन पेश नगरेसम्म काम ठप्प पार्ने गरिएको छ । उता भोला सिटौलले आफूले भने अनुसारको काम नगर्ने कर्मचारीलाई तुरुन्तै सरुवा गराउने धम्की दिने, करारमा भएका कर्मचारीहरुको करार अवधि थप नगर्ने र आफ्नो मर्जीका कामहरु गर्दै आएको नाम नखुलाउने सर्तमा कोषका एक कर्मचारीले बताए । भरत मरासिनीले अवैध रुपमा कमाएको ठुलो धनराशी साउथ ह्याम्टन लण्डनमा बस्ने आफ्ना भाइ रमेश मरासिनीको नाममा राख्ने गरेको स्रोतले जनाएको छ ।
त्यस्तै कोषको योजना शाखाबाट हुने सम्पूर्ण परियोजना, ठेक्का लगयाताको कमिसन, भागबन्डा, पैसा उठाउने कामहरु योजना प्रमुख मरासिनिकै दाहिने हात मानिने कोषका प्रमुख सिभिल इन्जिनियर केदार थपलियाले गर्दै आएका छन् । ठेक्केदार र मरासिनीबीचको दूरी घटाउने र सम्बन्ध निकट बनाउनेमा उही माहिर खेलाडी हुन् । यसै आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने कोषकै एउटा परियोजना अन्तर्गत भवनको डीपीआरको फाइल करिब ६ महिनासम्म आफ्नो दराजमा थन्क्याएर राखेका थपलियाले कन्सल्टेन्सीको समूहले मन्त्री स्वयं भानुभक्त ढकाललाई दवाव दिएपछि कोषसम्म एउटा तरंग पैदा भएपछि मात्र भुक्तानीका लागि पेश गरेका थिए । कमिसन नमिल्दा काम रोक्ने खेलमा थपलिया कहिले दोस्रो हुँदैनन् ।
कोरोना कहरकै बीच केही महिना मात्रै अगाडि थपलियाले पेप्सीकोला टाउन प्लानिङमा ६ आना घडेरी र गाडीसमेत जोडेको गाइँगुइँ हल्ला कोषकै सहकर्मीहरुबाट सुनिन्छ । यो सबै काम थपलियाले मरासिनीको आडमा गरेको देखिन्छ । छोटो समय सरकारी निकायमा काम गर्दा पनि धेरै ठूलो धनराशी जोड्ने मध्येमा थपलिया पनि एक हुन । पूर्व लेखा प्रमुख प्रेमहरि ढुंगानाको अवकाससँगै हालसालै लेखा प्रमुख बनेका चन्द्र खनाल पनि पछिल्लो समयमा परिषद सदस्य देवीप्रसाद बराललाई बेला बेला गोप्य रुपमा सम्पर्क गरेर नीतिगत, कार्यगत र योजनागत रुपमा कसरी कोषको मुद्दति खातामा रहेको अरबौ रुपैयाँबाट कमिसन प्राप्त गर्ने भनी आफूनिकट बैकहरुसँग नियमित भेटघाट तथा छलफल गर्न जाने गरेको जानकारी प्राप्त भएको छ । प्रायः जसो खनाल कार्यालय भन्दा पनि धेरै राजनीतिक भेलामा बिताउन रुचाउँछन् ।
पशुपतिका अरबौंका जग्गामा बराल देवको कृदृष्टि
पशुपति क्षेत्र विकास कोषसँगै रहेको अमालकोट कचहरीले कोष स्थापनासँगै कोषको सम्पूर्ण जग्गा सम्बन्धी काम गर्ने गर्छ । अमालकोट कचहरीका शाखा प्रमुख गौरीशंकर पराजुलीलाई समेत कमिसनको प्रलोभनमा पारी अति संवेदनशील जग्गा र मुद्दाका कागजातहरु बरालले हात पारिसकेका छन् । कोषको हजारौ बिघा जग्गा देशभरी छ । काठमाडौंमै पनि अरबौं मूल्यका मूल्यका जग्गा छन् । जग्गा सम्बन्धी रहेका विचाराधीन मुद्दा मिलाउन करोडौंको चलखेल हुने आँकलन सहजै गर्न सकिन्छ । बरालँसँग निकट अर्का सदस्य भगवतीप्रसाद देव भने कोषमा आउनु पूर्व डिल्लीबजार नापी कार्यालयका प्रमुख भएर सरकारीदेखि गुठीका जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गर्न नामूद खेलाडी हुन् ।
काठमाडौंका विभिन्न नापी कार्यालयमा लामो समय काम गरेका देवका बिरुद्ध अनियमितता र भ्रष्टाचारका धेरै उजुरी अख्तियारले तामेलीमा राखेको छ । अख्तियारलाई समेत मिलाउन खप्पीस उनी पैसा बुझाएरै गोपाल दहितको पालामा नियुक्ति भएका हुन् । नापीमा हुँदै करोडौं कुम्ल्याएका देव बारम्बार पशुपतिको गोठाटारको बालुवा प्रकरणमा मुछिँदै आएका छन् । उनको अनुभव र आफ्नो कनेक्सनको फाइदा उठाउँदै कागजात हात परेका छन् । जुन चलखेलको जोडघटाउमा देवीप्रसाद बराल रातदिन नभनी सम्बन्धित निकायमा अनवरत दौडिरहेका छन् ।
कोषका विभिन्न परियोजनामा काम गरिसकेका र गरिरहेका कम्पनीका डाइरेक्टरदेखि अध्यक्ष सम्मलाई बरालले बारम्बार फोन गरेर पशुपतिको विकास सम्बन्धी कुराकानी गर्नु छ भनी भेट्ने र भेटेपछि गोप्य कुरा गर्नु छ, मोबाइल अफ गर्नुस् भन्ने अनि कमिसन माग्ने, मिलेर काम गर्ने कि अख्तियार जाने लगायतका धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको गुनासो सेवाग्राहीहरुले नै गर्न थालेका छन् । ठुला ठुला नेताहरु, मन्त्रीहरु, विभिन्न निकायका प्रमुखसँग भएको फोन कलको रेकर्डिङ सुनाउने र आफ्नो पहुँचको प्रदर्शन गर्दै भेट्न आउनेलाई तर्साउने गरेका छन् ।
सुनको जलहरी राख्नेदेखि विभिन्न ठेक्का आफन्तलाई दिन दबाब
हालसालै पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राख्ने क्रममा सुनको जलहरी साथै विभिन्न ठेक्काहरु आफ्नो श्रीमान र देवर संलग्न भएको कम्पनीलाई नपारेको भन्दै परिषद सदस्य आशा पाण्डे र उनलाई हरकदम साथ दिने सदस्य बरालले कोषका कोषाध्यक्षसँग धेरै ठूलो भनाभन समेत गरेका थिए । देवी बराल र आशा पाण्डेले आफ्नो निकट कम्पनीलाई अनावश्यक परियोजना सफल पार्न आफू निकट एनजीओलाई कोषबाट ५ करोड उपलब्ध गराउनुपर्ने भनी माग गरेकोमा कोषले ठाडै अस्वीकार गरेको थियो ।
स्थानीयबासी समेत रहेकी आशा पाण्डेले बेला बेलामा स्थानीयकै आड लिएर सर्वजानिक खरिद शाखालाई धम्कीको भाषा प्रयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।
पछिल्लो समय गुमनाम रहेकी आशा पाण्डे पशुपतिमा सदस्य नियुक्ति भएसँगै पशुपतिको चन्दन र रुद्राक्ष बोकेर नेता तथा मन्त्रीका घरघरमा प्रसाद पुर्याई प्रसाद लगिदिएको दक्षिणा स्वरूप विभिन्न निकायमा भनसुन गराउन लगाउँदै आइरहेकी छिन् । भारतबाट पशुपति दर्शन गर्न आउने ठुला ठुला उद्योगपति तथा व्यापारी घरानाहरुबाट सेवा, दान, सहयोग स्वरूप बागमती सरसफाइको नाममा करोडौ रकम लिने गरेको पाइएको छ जसको कुनै लेखाजोखा छैन ।
उता बरालको डिजाइनमा उदयपुर सिमेन्ट कारखानाको कोइला खरिद प्रक्रियामा आफूनिकट भएका आसाम गुहाटीका एक कोइला व्यवसायीलाई उदयपुर सिमेन्ट कारखानाका उच्च पदाधिकारीहरुसँग भेटघाट तथा सेटिङ गराएको र त्यो निरन्तर हालसम्म भइरहेको कुरा सोही संस्थाका एक कर्मचारीले जानकारी दिएका छन् । बरालको योजना अनुसारका परियोजनाहरुले निरन्तरता पाएमा संस्थाले मात्र नभई देशले नै अरबौंको घाटा व्यहोर्नुपर्ने लेखा शाखाका एक कर्मचारी बताउँछन् । उदयपुरको हरेक काममा बाधा पुर्याउने, अनावश्यक छलफल गराउने, विवाद निम्त्याउने र कर्मचारीहरुलाई प्रलोभन देखाउने कुरा समेत जानकारीमा आएको छ स्रोतका अनुसार यता पशुपति क्षेत्र विकास कोषमा बारम्बार बरालले सिर्जना गरेको आन्तरिक झगडा र विवादले गर्दा बरालको भ्रष्ट कदमलाई सथ दिन्न भनेर केही दिन अगाडि मात्र परिषद सदस्य धु्रब उप्रेतीले राजिनामा दिएका छन् भने, अन्य एक जना सदस्य राजीनामा दिन गइरहेका छन् ।
मन्त्री ढकाललाई सहपाठी भन्दै ब्रम्हलुट गर्ने खेल
पर्यटन मन्त्री भानुभक्त ढकाललाई आफ्नो सहपाठी भन्न रुचाउने देवीप्रसाद बरालले उनी स्वास्थ्य मन्त्री हुँदा उनीमाथि लागेको स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणलाई मिलाउने सम्पूर्ण जिम्मा आफैले पाएको र आफूसँग यस्ता केस मिलाउने टिम रहेको बताउँछन् । बरालको काठमाडौँ बालाजु बाइपास, बुढानीलकण्ठ, सातदोबाटो साथै दमक, चितवन र इलाम गरी ५ वटा घर, एउटा व्यवसायिक भवन र बालाजुस्थित एउटा प्लस टु कलेजमा राम्रो पार्टनरसिप समेत रहेको छ भने क्रसर उद्योगमा पनि बरालको संग्लनता छ । दमक इन्डस्ट्रियल पार्कसँगै धेरै ठूलो जग्गामा प्लाटिङको व्यवसाय समेत संचालन भइरहेको जानकारी प्राप्त भएको छ । उनले बर्षौदेखि भ्रस्टाचार गरी आर्जन गरेको अकूत सम्पति श्रीमती तथा भाइ–भदाहाहरुको नाममा राखेको श्रोतले जनाएको छ ।
अनियमितताको खेलमा अब्बल प्रस्तुति दिने बरालको कुल सम्पति १ अर्ब २५ करोड रहेको स्रोतको दाबी छ । जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल आयल निगम लगायत विभिन्न निकायमा बोर्ड सदस्य रहेका उनले गरेको भ्रस्टाचारको आधारमा रहेर सिनेमा बनाउने हो भने उच्चस्तरीय सिनेमा बन्ने मजाक समेत गर्छन् सम्बन्धित निकायका कर्मचारीहरु । बरालमाथि सम्पति शुद्धिकरण अनुसन्धान विभाग, अख्तियारमा उजुरी परेका र विभिन्न निकायमा गरेका भ्रस्टाचारका मुद्दाले आजसम्म निकास पाउन सकेको छैनन् । उनले मन्त्री र उच्चतहको पहुँच देखाएर फाइल नै गायब गरेर राखेका छन् । अरब भन्दा माथि सम्पति भएका बराल आफूलाई सरल देखाउन सामान्य पोशाकमा ढाका टोपी लगाएर पुरानो मोडलको मारुती ८०० चढेर हिंड्छन् ।
पछिल्लो समय पशुपतिमा चढाइने दान, पर्यटक आगमनबाट हुने आम्दानी साथै आर्थिक कारोबारहरु बैंकसँग सहकार्य गरी अनलाइन प्रणाली सुरु गरी १० देखि १५ करोडको वार्षिक अनियमिततामा रोक लागेको छ । पछिल्लो समयमा कोषले सबैलाई पारदर्शी हुने गरी कोषको सम्पूर्ण सम्पत्ति पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । साथै पछिल्लो ४ वर्षको समयावधिमा कोषको सचिवालयले कोषको कुनै पनि जग्गा लिज वा कुनै प्रयोजनले कसैसँग पनि सम्झौता गरेको छैन । पशुपतिको सरसफाइमा आएको परिवर्तनको अनुभूति त्यहाँ जाने हर कोही आम नागरिक वा भक्तजनले गरेका छन् । सुरक्षा क्षेत्र पनि उत्तिकै सुदृढ भएको छ । मानवसेवा आश्रमसँगको सहकार्यमा माग्ने रहित पशुपति बनेको छ । लागुऔषध दुव्र्यसनमा रोक लगाउने कार्यहरु पनि हँुदै आएका छन् । पशुपति क्षेत्रभित्र अव्यवस्थित रुपमा हुने पार्र्किङलाइ पूर्ण व्यवस्थित गरी बाहिर पार्किङ क्षेत्र बनाइएको छ । भूकम्पले ढलेका सम्पदाहरु सचिवालयको दिनरातको मेहनतले उठिसकेका छन् । हरेक क्षेत्रमा हेर्दा सकारात्मक परिवर्तनको तीव्र बाटोमा छ पशुपति क्षेत्र विकास कोष ।
पहिलो लहरको कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहन सकेन । फलस्वरूप देश लकडाउनमा गयो । त्यसबखत पनि कोषले आफ्नो क्षेत्रमा रहेका बाँदरहरुलाई आहारा, परेवा पंक्षीलाइ चारो, पशु चौपायाहरुलाई आवश्यक आहारा निरन्तर व्यवस्था मात्र गरेन, काठमाडौँ उपत्यकाको सडकमा छरिएर रहेका गाई बस्तु तथा चौपायाहरुलाई उद्दार गरी गोठाटारमा रहेको जग्गामा उपचार तथा व्यवस्थापन गरिराखेको थियो । अहिले दोश्रो लहरको कोरोना कहरमा भने कोषलाई संक्रमितको लास व्यवस्थापनमा जोड दिनुपरेको छ । पक्कै पनि परिस्थिति जटिल छ तर आवश्यक जनशक्तिको भरपुर प्रयोग गरी व्यवस्थापन चुस्तदुरुस्त बनाउन कोष सक्षम छ ।
सब दाहन रोक्ने षडयन्त्रमा तल्लीन, सीसीएमसीमै विवाद निकाले
यस सन्दर्भमा यता कोषकी सदस्य आशा पाण्डे भने पशुपतिमा लास जलाउँदा स्थानीयमा संक्रमण फैलिने र बागमती नदी फोहोर हुने जस्ता अफवाह फैलाउँछिन भने अर्का सदस्य देवी प्रसाद बरालले चाहिँ सीसीएमसीका एक प्रतिनिधि, नेपाली सेना, सहयोगी संस्थाहरु, सचिवालय पदाधिकारीहरुबीचको संयुक्त बैठकमा कोरोना संक्रमितको लास व्यवस्थापन गर्ने कार्य कोषको होइन, राज्यको दायित्व हो, पशुपति क्षेत्र विकास कोषको कुनै टाउको दुखाइको विषय होइन, यदि कोषले व्यवस्थापन गर्नुपर्ने भए प्रतिसब रु. ५ हजार बराबरको शुल्क अनिवार्य लिनुपर्ने जस्ता प्रस्ताव राखेपछि विवादमा परेका छन. । बरालको कुरा सीसीएमसीका प्रतिनिधिले ठाडै अस्वीकार गरेर्का थिए भने कोषका अन्य सदस्यहरुले समेत सो कुराको घोर विरोध गरेका थिए । उक्त विवाद निकालेपछि बराल र अन्य उपस्थित व्यक्तिबीच भनाभन नै परेको थियो । विवादित कुरा गरेपछि बैठक चल्दाचल्दै बीचमै बरालले बैठक छोडेर हिँडेका थिए ।
आफुले काम गरेका कुनै पनि संस्थामा आफुलाई व्यक्तिगत लाभ हुने किसिमका मात्र कामलाई साथ दिने र अन्य कुनै पनि राम्रा काम हुन नदिने बरालका सबै क्रियाकलाप र कदमले यस्तो जनाउँछ कि देवीप्रसाद बराल बर्षौदेखी उनी सम्बन्धित निकायको आँखामा पट्टि लाएर रजाई गर्न सफल छन् । अब आउने दिनहरुमा बरालले उदयपुर सिमेन्ट कारखाना र पशुपति क्षेत्र विकास कोषमा कस्ता कस्ता नीतिगत भ्रस्टाचार गर्छन् हेर्न बाँकी छ । समाचार साभार :नेपाल फेस डट.कम