टेकु अस्पताल र क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौँ महानगरको भेन्टिलेटर सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ८।

काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र क्षेत्रपाटी  निःशुल्क चिकित्सालय,क्षेत्रपाटीलाई २/२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ ।

हिजो (जेठ ७ गते) महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशकहरुविच सम्झौता गरेर उपकरण प्रदान गरिएको हो । काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो ।

उपकरण हस्तान्तरण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भने , आजैदेखि भेन्टिलेटर सञ्चालनमा ल्याएर जनताको जीवन बचाउन थाल्नोस् ।

काठमाडौँ महानगरले अहिले सबै काम थाँती राखेर जनताको जीवन बचाउन प्रयास गरिरहेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो भने प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महानगरले आन्तरिक संरचना र क्षमताबाट आफैँ र सरकारी तथा सामुदायिक अस्पतालहरुलाई सहयोग गरेर वृहत्तर रुपमा कोविड विरुद्ध काम गरिरहेको बताएका थिए  ।

भेन्टिलेटर प्राप्त गरिसकेपछि टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले, कोविड संक्रमणले स्वास्थ्य क्षेत्रलाई कठिन ठाउँमा लगेका बेला महानगरबाट भेन्टिलेटर प्राप्त भएपछि अस्पताल थप सेवा दिन सक्ने भएको उल्लेख गरेका थिए ।

त्यस्तै क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो अस्पताललाई कोविड अस्पताल बनाउन थप बल पुगेको बताएका थिए।

काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोविडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ ।

यसबाट काठमाडौँको सामाखुशीमा २ सय वेडको आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी अस्पतालमा ५० वेडको इचडीयू सञ्चालनमा आइसकेको छ । यसैगरी छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।

ती अस्पतालहरुमा थप ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वीप्याप) सहितका उपकरण जडान हुँदैछन् ।

तपाइँको प्रतिक्रिया ।