कोरोनाको उच्च संक्रमण रोक्न यसो गर्नेकी बुढानिलकण्ठ सरकार ?

कोरोनाको उच्च संक्रमण रोक्न यसो गर्नेकी बुढानिलकण्ठ सरकार ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५/पुन्यराज पुडासैनी

बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमित शंख्या १,३५७ पुगेको छ भने संक्रमण दर पनि परिक्षणको दायरा बढे संगै उकालो लाग्दै गएको छ।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुको संक्रमणको स्तर र अवस्था हेर्दा यसले नगरवासीको स्वास्थ्यमा गम्भीर अशर पार्ने देखिन्छ। त्यस माथि दर्जनौ कर्मचारी ,नगर प्रहरी  र अग्रमोर्चाका जनप्रतिनिधिहरु नै भटाभट संक्रमित बने संगै यसले गम्भीर संकेतहरु  देखाउदै लगेको छ।

नगरपालिकामा हप्तामा दुई दिन परिक्षण गरिए पनि संक्रमणको लक्षण देखिएका नगरवासीहरुले परिक्षण स्थल सम्म आइपुग्न नै प्रहरी चेक लगायतका व्यवधान सहदै  ठुलो युद्ध जितेको झैँ अनुभव गर्ने गरेका छन।

परिक्षण स्थलहरुको अवस्था र त्यहा आएका नगरवासीहरुको अवस्था हेर्दा समुदाय स्तरमा कोरोनाले सोत्तर बनाइसकेको झैँ लाग्दछ भने कतिपय मृतक र संक्रमितको विवरण नगरपालिका सम्म नआउनुले पनि झन् अन्यौलता थपेको छ।

यस्तो विषम अवस्थामा गम्भीर विरामीहरुलाई अक्सिजन र उपचार खोज्न लाग्दै गर्दा संक्रमण फैलिन नदिने तर्फ कम ध्यान पुगेको देखिन्छ ।यस्तो विषम परिस्थितिलाई मध्येनजर गर्दै बुढानिलकण्ठ नगरपालिकाको स्थानीय सरकारले तत्काल केहि गम्भीर कदम चाल्नु पर्ने माग उठन थालेको छ।

कोरोनाको उच्च संक्रमण रोक्न यसो गर्नेकी बुढानिलकण्ठ सरकार ?

बुढानिलकण्ठ नगरपालिकामा कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि गर्नुपर्ने केहि महत्वपूर्ण कामहरु यहाँ उल्लेख गरिएको छ।

१.एक साता नगरपालिका सिल ,वडा वडामा परिक्षण  

बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमणको रोकथामकाका लागि एक हप्ता सम्पूर्ण नगरपालिका सिल गरेर वडा वडामा परिक्षणको व्यवस्था मिलाउनु पर्ने देखिन्छ। अहिले भैरहेको परिक्षणले चेन ब्रेक गर्न नसक्ने भएकोले कम्तिमा २ दिनको समय दिएर आवस्यक सामाग्रीको व्यवस्थापन संगै पूर्ण लक् डाउन गर्नुपर्ने देखिन्छ।

नगरपालिका सिल संगै मोबाइल परिक्षण भ्यानको प्रयोग गर्दै टोल टोलमा परिक्षण गर्ने व्यवस्था मिलाउनु सके जोखिम कम हुनुका साथै गम्भीर रुपमा रहेका नगरवासीहरुलाई पनि निकै राहत हुने देखिन्छ।

२. निषेधाज्ञाको पूर्ण पालना,अनुगमनमा चुस्तता    

निषेधाज्ञा भनिए पनि नगरपालिकाका बजार र पसलहरुमा यसको पूर्ण रुपमा अवहेलना गरेको देखिन्छ । साइरन बजाएर आएको प्रहरीलाई झुक्काउने अनेकौ तरिका आविस्कार गरेका नगरवासीले निषेधाज्ञाको उल्लंघन गर्नुलाई पुरुषार्थ ठानिरहेका छन।

त्यति मात्र हैन नगरपालिकाको बैठकमा आफै मापदण्ड बनाउने अनि आफै त्यसलाई तोडेर कलेक्टर बजारमा डुलाउने सहकारी संस्थाहरुलाई ठाडो कारवाही गर्नुपर्ने देखिन्छ भने स्वास्थ्य मापदण्ड पुरा नगरेका पसल बन्द गराउने गरी प्रभावकारी अनुगमन पनि गर्नुपर्ने देखिन्छ।

नगरपालिकाका भित्रि गल्लीहरुमा खुल्ने भट्टी पसल र होटलहरु माथि आकस्मिक अनुगमन गर्नुपर्ने देखिन्छ भने कतिपय जनप्रतिनिधिहरुले पनि सामाजिक संजालमा बिलौना पोख्नु भन्दा योजना बनाउन तर्फ लाग्नुपर्ने देखिन्छ।

३. व्यापक स्वयंसेवक परिचालनका लागि संजाल निर्माण 

बुढानिलकण्ठ नगरपालिकामा निषेधाज्ञा उल्लंघन रोकथामका लागि व्यापक स्वयंसेवक परिचालनका लागि हप्तैपिक्षे कार्यक्रम र योजनाका पत्र बोकेर नगरप्रमुखको कार्यालय वरिपरी डुल्ने दर्जनौ संघ संस्था र समुहहरुलाई उपयोग गर्ने ठोस योजना नगरपालिकाले बनाउनु पर्ने देखिन्छ।

त्यस्तै यस्तो विषम अवस्थामा पनि विद्यार्थीहरुको स्वास्थ्य माथि खेलबाड गर्दै सादा पोशाकमा विद्यार्थीहरुलाई बोलाउने विद्यालय माथि कारवाही गर्दै विद्यालयहरुका पेशागत संघ संगठनलाई पनि यस अभियानमा सामेल गराउन सकिने देखिन्छ।

४. कुराकाजी हैन कामकाजी सांसद 

बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमण बढे संगै यहाँ बाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेस गरेर ८ जना सांसदहरुको भूमिकाका वारेमा पनि चर्चा शुरु हुन थालेको छ।

यस विषम परिस्थितिमा केहि सांसदहरुले आफु र  आफ्नो सवारी जनसेवामा लगाए पनि अन्य मोर्चाहरुमा भने उनीहरुको भूमिका प्रभावकारी र हस्तक्षेपकारी देखिएको छैन।

बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमण भयावह स्थिति मा पुग्ने संकेत देखिए संगै कतिपय सांसद आफ्नो क्षेत्र नै छोडेर अन्य क्षेत्रमा आइसोलेसन बनाउन तर्फ लागेका छन भने कतिपय घरमै संचार माध्यम डाकेर सचेतनाको प्रवचन दिनमै व्यस्त देखिन्छन।

त्यस्तै कतिपय सांसदहरु आफ्नो क्षेत्र छोडेर अन्यत्र मास्क र स्यानीटाईजर वितरणमा सक्रिय रहेका देखिन्छन भने कतिपय घरमै बसेर सरकारलाई सहयोग गरिरहेका छन।यो परिवेशमा नगरपालिकाले यी ८ सांसदहरुलाई उपयोग र परिचालनका लागि पनि विशेष योजना बनाउनु पर्ने देखिन्छ।

माथिका मुख्य बुंदा संगै बुढानिलकण्ठ नगरपालिकाले स्थानीय स्तरमा महामारी रोकथामका लागि जवाफदेही नगरवासी ,जिम्मेवार स्थानीय सरकार अभियान नै घोषणा गरेर हरेक घरमा पुग्ने र जनताको पिर मर्का बुझ्ने प्रयासमा लागे जोखिमको दर निकै घटाउन सक्ने देखिन्छ।

पक्कै पनि विपदमा  आपत पर्दछ तर त्यो आपत संग जुध्न योजवाद्ध अभियानको आवस्यकता पर्दछ भन्ने कुरालाई मनन गर्दै महामारी संग जुध्नका लागि सबै नगरवासीले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने अहिलेको आवस्यकता रहेको छ।

तपाइँको प्रतिक्रिया ।