समयको अनुहारमाथि हराएका छोराहरूबाट राजबाबुका काव्यिक बुट्टा : उर्मिला कोइराला (पुस्तक समीक्षा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
आख्यान लेखनमा पहिलेदेखि नै सक्रिय राजबाबु श्रेष्ठ सागर वि. स. २०२८) को पछिल्लो समय गीत, गजल, मुक्तक र कवितामा पनि उत्तिकै सक्रियता पाइन्छ । १४ वर्षकै उमेरमा नाटक लेखन, निर्देशन र अभिनयमा समेत संलग्न भएका सागरको कविता सङ्ग्रह भने हराएका छोराहरू २०७७) नै पहिलो हो ।
आख्यानका क्षेत्रमा बन्द फ्रेमभित्रको चिठी पहिले नै प्रकाशित उपन्यास हो भने मुनारमा र घिमिरेबाको कथा प्रकाशोन्मुख उपन्यास हुन् । सागर साहित्यका क्षेत्रमा बहुमुखी प्रतिभाका धनी छन् । हराएका छोराहरू कवि राजबाबु श्रेष्ठ सागरको कविता यात्राका प्रतिनिधि कविताहरूको सङ्ग्रह हो ।
यस कृतिको नामकरण यसै कविता सङ्ग्रहमा रहेको ‘हराएका छोराहरू’ शीर्षकमा रहेको कविताको आधारमा राखिएको छ । यो अभिधात्मक प्रकृतिको शीर्षक हो ।
हराएका छोराहरू अनेक विषयमा लेखिएका कविताहरूको सङ्कलन हो । यसमा विशेषगरी देशभक्ति र मानवतालाई प्रमुख विषयवस्तु बनाएर लेखिएका कविताहरू समेटिएका छन् ।
विषय छनोटका दृष्टिले राष्ट्रियता र देशभक्ति, माटोको माया, सामाजिक विसङ्गति र विकृति, राजनीतिका नाममा देखापरेका शासक मानसिकता, हुने खाने र हुँदा खाने बिचको भेदका कारण देखापरेको ह्रासोन्मुख मानवता आदिलाई समेटेको पाइन्छ ।
विषयगत विविधताको प्रस्तुति रहेको यस सङ्ग्रह समसामयिक र यथार्थपरक ढङ्गले पाठकसामु आएको छ ।
कवि सागरले आफ्नो सङ्ग्रहभित्रका कविताहरूमा देशप्रेमपूर्ण व्यङ्ग्य छताछुल्ल हुने गरी पोखेका छन् –
नारा गुन्जन्छन् फेरि
देश बनाउनेको राष्ट्रियताका
तर देख्दिन म,
कसैका हातमा झण्डा चन्द्र र सूर्यका
छन् त फगत एक जोर आँखामा काला पट्टी
हिँसाका खुर्पा र स्वार्थका ठुला राता तूल
जसमा लेखिएका छन् – “आऊ बुद्ध देश बचाऊ” पृ– २६) ।
उनका धेरैवटा कविताहरूमा देशको सीमा दुखिरहेछन् ।
आखिर लेख्नु भनेको पनि त कि मुटु हो कि माटो न हो । माटो चुमेर आएको सुगन्धमा रमाउने कविता खास कविता हुन्छ भन्छन् समालोचक तथा अग्रज कविहरू । सीमासँगै दुखेको कवि हृदयले छिमेकी राष्ट्रप्रति यसरी प्रहार गरेका छन्–
बारीको दक्षिण डिलमा
गजधम्म उभिएर बसेको
कालो वीर मसान झै ऊ अझै गजधम्म परेर
दायाँ खुट्टाले मेरै शिर कुल्चिरहेछ पृ– ४४) ।
भन्ने गरिन्छ गर्ने र गरिने, किसिम दुइटा हुन्छन् । विदेशीले देश लुट्ने खालको वातावरण बनाउन शासककै पनि त कमजोरी हावी छ । त्यसो त देशको सीमा मिच्नेलाई मात्र कविले व्यङ्ग्य गरेको होइन देशभित्रै रहेर देश लुट्नेहरूको पछि लागेका मलामी र ठोकिएको सलामीप्रति कविले यसरी खेद प्रकट गरेका छन् –
पुच्छरबाट लुछ्दै आफ्नै देशका मुटु– कलेजा
खान भ्याउने धारिला दाँत भएका ब्वासाहरूलाई
जिउँदो हुँदा पनि ठोक सलामी
मरेपछि पनि ठोक सलामी पृ– ४५) ।
एउटा गीतमा म एउटा मानिस खोजिहेछु भनेझैँ कवि सागर पनि नयाँ सोच विचार र चिन्तनसहितको शासक खोजिरहेछन् ।
उनलाई परिवर्तन त चहिएको छ तर परिवर्तन नामको परिवर्तन मात्र उनी चाहन्नन् । त्यो सार्थक र जनमुखी होस् भन्ने अपेक्षा पनि छ । सत्ताको दाउपेचमा राष्ट्र बिर्सिएका नालायकहरूलाई फेर्नु पर्ने जिकिर गर्दै राष्ट्र हाँक्ने सारथीको खोजी गर्न कम्मर कसेर लागेका छन्–
रथलाई ग्यारेजमा लगेर देखाउनू छ मलाई
खोल्नू छ इन्जिन र फेर्नु कलपूर्जाहरू
खाज्नू छ मलाई
एउटा अब्बल कृष्णजस्तो सारथि पृ– ५४) ।
नेपालमा क्रान्ति, युद्ध र विद्रोहका लामा शृङ्खलाहरू छन् । हरेक पटक नयाँ नयाँ सपना बाँडिन्छ तर पूरा गरिन्न । यो व्यवस्था, जनता र देशप्रतिकै बेइमानी हो । उनका कविताका पङ्क्तिहरूमा क्रान्तिका ती ज्वालाहरू र त्यो निभ्दा पनि बाँकी रहेका अवशेषहरू यसरी भेटिन्छन्–
जेठो छोरो जहिल्यै देश काँधमा बोक्छु भन्थ्यो
देश निकै भारी हुँदो रहेछ क्यारे सकेन बोक्न
र बिसायो देश ऊ आफैँ ढलेपछि
कान्छो छोरो पनि देश बदल्छु भन्थ्यो
देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी
छि¥यो जङ्गल जनयुद्धका लागि
ऊ पनि ढल्यो, त्यही गल्यो
ककसले कता फाले
ऊ जनयोद्धाबाट सहिदमा बदलियो पृ– १९) ।
समय महत्वपूर्ण कुरा हो । लेख्ने पनि समय हो र कविले अनुभूत गर्ने पनि समय हो । समयबोध नभएको र हृदयहीन कविता के कविता ?
हिजोको क्रान्तिबाट प्राप्ति शून्य भएपछि देश अनिश्चितताको बन्धनबाट मुक्त हुन नसकेको विचार सहित कवि पुःन सहिदहरूलाई क्रान्तिकै लागि उठ्न र ब्युझन आह्वान गर्दछन् –
सहिदहरू ब्युँझनुपर्छ
फेरि एकपल्ट निद्राबाट
केवल देशमुक्ति क्रान्तिका लागि
ब्युँझनु पर्छ प्रत्येक सहिदहरू
एकपल्ट फेरि चिहान चिहानबाट पृ– ८८) ।
विशेषगरी विभिन्न बिम्ब र प्रतीकका माध्यमबाट कवितामा आशावादी भाव नै देखाउने कवि सागरका एकाध कवितामा देशप्रेम र आशामात्र होइन नयाँ बिम्ब सहित जीवनप्रतिको विरक्तिभाव र मृत्यु पनि उदाङ्गिएको छ । यसलाई मृत्यु चिन्तन वा जीवनको शाश्वत पक्षको खोजी पनि भन्न सकिन्छ । उनी भन्छन् –
आकाशले पनि मान्छेका लासहरूलाई
चुरोट बनाएर खाइरहेछ
एकै छिनमा जिन्दगीपछि लास
लासपछि खरानी भइरहेछ पृ– ३४) ।
जिन्दगी निदाएपछि
फेरि,
जिन्दगी उठाउन भाले कहिल्यै बास्दैनन्
यत्ति बुझ्नु कि,
मृत्यु जीवनको पूर्णविराम हो पृ– १०४) ।
पार्टी पार्टी बीचका अन्तरसम्बन्ध र तिनका भातृसङ्गठनहरूको व्यवहार लोकतन्त्रको अभ्यास मानिन्छ तर नेपालमा त्यस्ता अभ्यास अभद्र छन्, अमर्यादित छन् र तिक्ततापूर्ण छन् । यिनका कवितामा त्यस्ता क्रियालापहरूप्रति आक्रोश सहित पेचिलो व्यङ्ग्य पाइन्छ –
एक हुल आएर अचानक ढाल्दछन्
ती मक्किएका पोलहरू
र गरिबका सपनाका महलहरू
फेरि गुन्जिन्छन् नाराहरू
जिन्दावाद÷मुर्दावाद पृ– २५) ।
१०४ पृष्ठ भएको ५५ वटा सुन्दर कविताहरू सङ्ग्रहित यस कविता सङ्ग्रहमा पूर्ण रुपमा गद्य कविता मात्र समाविष्ट छन् । कविको बौद्धिकता, भावनात्मकता र शाब्दिक छनौटको गहिराइ अझै गहिरो बन्ने, काव्यिक उचाइ अझै अग्लो बन्ने र काव्यिक चुली अझै चुलिने निश्चित छ ।
कविता सरल पनि छन् र क्लिष्ट पनि छन् । फरकफरक समयमा लेखेका कविता एकै ठाएँमा सङ्ग्रहित हुँदा त्यो सबैको सङ्ग्रहमा हुने नै कुरा हो । सम्प्रेषणीय हुनु र गहिरो तहको भावनात्मक हुनु उनको विशेषता हो । अभिव्यक्तिको दौडमा काव्यिक लयात्मकता विमुख छैनन् कविता । यो उनको प्राप्ति हो ।
अत्यन्तै सरल भाषाशैलीको कलात्मक प्रयोगद्वारा कवितालाई मिठासपूर्ण बनाउने कवि सागरले सामाजिक विसङ्गति मात्र उजागर नगरेर भावनात्मक बौद्धिकताका साथै बिम्ब, प्रतीकको समुचित प्रयोग गर्दै गठिलो कविता रचना गर्नमा कुशलता देखाएका छन् ।
त्यसो त कवि सागरको यो कविता सङ्ग्रहसँग एउटा देशको चिना मुक्तक सङ्ग्रह पनि प्रकाशित भएको छ । बि. एन. पुस्तक संसार प्रा. लि. द्वारा प्रकाशित यस कृतिमा विचार, भावना र काव्यकलाको सन्तुलित मिश्रण पाइने हुनाले यो सङ्ग्रह वास्तवमै पठनीय बनेको छ ।
कवि राजबाबु श्रेष्ठ सागरको आख्यानबाट सुरु भएको साहित्यिक यात्राले एकैचोटि दुईवटा सिङ्गा सिङ्गा कृतिहरू हराएका छोराहरू कवितासङ्ग्रह र देशको चिना मुक्तक सङ्ग्रहसम्मको यात्रा पूरा गरिसकेको छ ।
समसामयिक साहित्यको मूल प्रवाहमा उनी सग्लो देखिएका छन् । कविता लेखनमा आउने विचारको स्वाभाविक उत्कर्षता र अभिव्यक्तिको कला त फेरि पनि माझिँदै जाने नै छ । अब उनीबाट थप दार्शनिक चिन्तन र अन्तर चेतनाको आलोक भरिएर आउने छन् ।
म विश्वस्त छु । कविता र गीतमै रमाइरहेकी मजस्ती समकालीन व्यक्तिले भन्न सक्ने र सुहाउने कुरा शायद यत्ति हुन सक्छ ।
अबका दिनमा पनि साहित्यिक यात्रा अनवरत रुपमा चलिरहोस्, कविज्यूलाइ हार्दिक शुभकामना !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक