आज मातातीर्थ औँसी : मातृ वात्शल्यको सम्मान गर्ने दिन

आज मातातीर्थ औँसी : मातृ वात्शल्यको सम्मान गर्ने दिन

कपन अनलाइन

काठमाडौँ, बैशाख २७।

आज मातातीर्थ औँसी श्रद्धा, भक्ति साथ आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा अर्पण गर्दै  आशीर्वाद थाप्ने दिन।

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले  जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरेर सम्मान गरिन्छ।

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गरे पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले यस वर्षको  मेला स्थगित गरिएको छ।

आमा नहुनेहरु औँसीका दिन बिहानै त्यस तीर्थमा गएर स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गरेका थिए।

तपाइँको प्रतिक्रिया ।