काठमाण्डौ महानगरपालिकामा कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७ ।
काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो । आज महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जनाएको छ ।
यस अघि असारबाट शैक्षिक सत्र सुरु गर्ने योजनाअनुसार परीक्षालगायत शैक्षिक कार्यक्रम चलिरहेका थिए । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदी भन्नुहुन्छ, ‘त्यसैअनुसार जेठसम्ममा सबै परीक्षा सक्ने गरी कार्यक्रम चलिरहेका थिए । अहिले कोविड संक्रमण बढ्दो क्रममा भएकोले कक्षा ८ को परीक्षा स्थगन गरेका छौँ । एसईई परीक्षा र अर्को शैक्षिक सत्रको शुरुवात् सरबार निर्णय आए बमोजिम गर्नेछौँ ।’
सुवेदीकाअनुसार महामारीको अवस्था हेरेर आगामी दिनका शैक्षिक कार्यक्रमहरुका बारेमा क्रमशः निर्णय हुँदै जानेछ ।