कोविड उपचारका लागि शिक्षण अस्पताललाई काठमाण्डौ महानगरको १० वटा भेन्टिलेटर सहयोग

कोविड उपचारका लागि शिक्षण अस्पताललाई काठमाण्डौ महानगरको  १० वटा भेन्टिलेटर सहयोग

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २५।

काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियोे ।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।मुल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ हो ।

सामाग्री हस्तान्तरण गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले महानगरले संक्रमण रोकथाम र नियन्त्रणमा गरेका प्रयासको चर्चा गर्दै, समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताए  । ‘हाम्रा योजनाहरु अस्पतालमा भेन्टिलेटर र आइसियु बढाउनुभन्दा व्यक्ति—व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रीत गरिनुपर्छ । यतिले मात्र प्रयास नपुग्न सक्छ ।’ उनले थप्दै भने , ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ ।’ प्रमुख शाक्यले चिकित्सकहरुको कामको प्रशंशा गर्दै भन्नुभयो, ‘तपाईँहरुको उत्साहले व्यक्तिलाई बाँच्ने आशा आउँछ । त्यसैले सहास बढाउनोस् । आवश्यक पर्ने सहयोग हामी गछौँ ।’

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताउनुभयो । ‘पहिले जीवनको सुरक्षा त्यसपछि विकासका योजना ।’ खड्गी श्रेष्ठको भनाइ थियो ।

अस्पतालमा आएका विरामीलाई फिर्ता पठाउनु नपरोस् भन्ने चाहना राखेर हामीले क्षमता र जनशक्ति व्यवस्थापनमा लागेका छौँ । त्यस क्रममा डीन प्रा. डा. सिंह शाहले महानगरको सहयोगबाट उत्साहित भएको बताउनुभयो । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताए। अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ । महानगरको सहयोग यहाँ पनि आवश्यक छ । कार्यकारी निर्देशक काफ्लेको भनाइ थियो ।

जीवन रहेपछिका लागि अरु भौतिक सुविधा उपयोग हुन्छन् । त्यसैले महानगरले महामारीविरुद्धको लडाइँलाई प्राथमिकता साथ कार्यान्वयन गरिरहेको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ ।

अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीकाअनुसार अस्पतालमा कोविड संक्रमण भएका विरामीको संख्या बढ्दै गएको छ । यसपछि सघन उपचार कक्षमा कोविडका विरामीको संख्या धेरै हुने सम्भावना छ ।

तपाइँको प्रतिक्रिया ।