सिन्धुपाल्चोक ‘एक घर एक महिला’ सहकारीमा आबद्ध

सिन्धुपाल्चोक ‘एक घर एक महिला’ सहकारीमा आबद्ध

सिन्धुपाल्चोक, २५ पुस– सिन्धुपाल्चोकको नवलपुर गाविसका ‘एक घर एक महिला’ सहकारीमा आबद्ध भएका छन् ।

सो गाविसका ७१२ घरधुरीका ७३३ महिला सदस्य नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको सहकारी डिभिजन कार्यालय धुलिखेलका प्रमुख चेतनाथ गिरीले जानकारी दिएका छन् ।

२०६९ सालमा १०२ सदस्यबाट सुरु गरिएको संस्थामा हाल ३१ लाखको कारोबार हुने गरेको संस्थाकी अध्यक्ष सानुकान्छी रानाले बताए ।

सुरुमा संस्था स्थापना गर्न महिला विकास कार्यालय सिन्धुपाल्चोकले रु १५ हजार अनुदान प्रदान गरेको थियो । संस्थाले तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन लगायत आयमूलक कार्यका लागि संस्थाका सदस्यलाई पाँच हजारदेखि ५० हजारसम्म ऋण प्रदान गर्दै आएको छ ।

बचत सङ्कलनका लागि गाविसका चारवटा केन्द्र कायम गरिएको छ । फ्रान्सस्थित विश्वका चिकित्सकका संस्था एमडिएम नेपाल च्याप्टरका कार्यक्रम संयोजक सीताराम वाग्लेले महिलाले मात्र सञ्चालन गरेको सहकारीमार्फत महिला प्रजनन स्वास्थ्यका लागि रु ६० हजार अनुदान दिइँदै आएको जानकारी दिए ।

सोही सिलसिलामा एमडिएमका जिल्ला संयोजक राजेश ज्ञवालीले गाविसमा चारवटा केन्द्र कायम गरी महिला प्रजनन स्वास्थ्यका लागि रु १५ हजारका दरले ६० हजार अनुदान प्रदान गरिएको बताए ।

जिल्लामा राम्चे, कालिका, ठोकर्पा र जलबिरे चार गाविसका सम्पूर्ण घर परिवार सहकारीमा आबद्ध भइसकेका छन् भने महिलामात्र सहभागी रहेको गाविस नवलपुर समेत तीन पुगिसकेको छ ।

यसअघि सुनखानी र बराम्ची दुई गाविसमा ‘एक घर एक महिला’ सहकारीमा आबद्ध भइसकेका छन् ।
रासस

तपाइँको प्रतिक्रिया ।