३८ औँ विश्व पर्यटन दिवसमा पर्यटकको स्वागत
कपन अनलाइन
पोखरा, ११ असोज । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा हवाई मार्गबाट पोखरा विमानस्थलमा आउने विदेशी पर्यटकलाई आज हार्दिक स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजकत्वमा विभिन्न १३ वटा पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले आज ८ः३० बजे यती एअरलाइन्सको विमानबाट पोखरा विमानस्थलमा उत्रने विदेशी पर्यटकलाई बाजागाजा सहित फुलमाला लगाई स्वागत गरे ।
स्वागतपछि पर्यटकले नाचगानसमेत गरेका थिए । सोही उपलक्ष्यमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले आज साँझ पोखराको बाराहीचोकदेखि फिस्टेल गेटसम्म मिनी सडक महोत्सव गर्ने भएको छ ।
महोत्सवमा लाइभ ब्यान्ड, विभिन्न कलाकारको सांस्कृतिक कार्यक्रम र अन्तर्राष्ट्रियस्तका खानाका परिकारहरु मुख्य रुपमा रहने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक भीमसेन भुजेलले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
त्यस्तै सोही उपलक्ष्यमा टान पोखराले पोखरा–लेखनाथ महानगरपालिकामा रहेका आठवटै तालको भ्रमण गराउने संस्थाका अध्यक्ष हरि भुजेलले बताए ।
पर्यटन दिवसका अवसरमा पर्यटकलाई स्वागत
पर्यटन दिवसका अवसरमा जिल्लामा आएका पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन व्यवसायी एवं सरोकारवालाले अनौपचारिक रुपमै जिल्ला भित्रिएका पर्यटकलाई टीका–खादा लगाएर स्वागत गरेका छन् ।
बडा दशैँको समय भएकाले औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै पर्यटन व्यवसायीले आ–आफ्नै तरिकाले पर्यटकको स्वागत गरेका हुन्।अन्नपूर्ण पदमार्ग र जिल्लाका ग्रामीण क्षेत्रमा आएका पर्यटकलाई बेसीशहरस्थित पर्यटक जाँच केन्द्र तथा विभिन्न होटल व्यवसायीले बिहानदेखि स्वागत गर्दै बिदाइ गरेका थिए ।
पर्यटन दिवसका अवसरमा आफ्नो ठाउँमा आएका पर्यटकलाई अनौपचारिक नै भए पनि टीका–खादा लगाएर स्वागत गरी दिवस मनाइएको बेसीशहरस्थित गेट वे हिमालयन रिसोर्टका निर्देशक अञ्जु पौडेलले बताए । जिल्लामा अहिले दैनिक सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । नेपालीको स्वागत तथा सम्मानबाट पर्यटक निकै खुशी भएका छन् ।