लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १४।
मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् । आइतबार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई हाल इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको छ ।
तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरु व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको दाहालले बताए । शनिबार राति काँकरभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताए । गत माघयता मेचीनगरमा ३०० मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि केबुल तार चोरीका घटना भइरहेका छन् ।
तार चोरी भएसँगै त्यसक्षेत्रका १५० वटा ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्व हुँदा उपभोक्ताहरु आक्रोशित भएका छन् । “न टेलिफोन चल्छ, न इन्टरनेट नै”, मेचीनगर–६ का पूर्णबहादुर राईले भने, “आफन्तसँग फोन र भिडियो कलमा कुरा गर्न पाएका छैनौँ, केटाकेटीहरुले अनलाइनमा पढ्न पनि पाएका छैनन् ।” तार चोरी गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कारवाही गर्न र टेलिकमले सेवा चाँडो चालु गर्न राईले माग गरे । इमेलमा आएका महत्वपूर्ण डकुमेन्ट हेर्न र पठाउन नपाइएको सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले बताए ।